काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गरेकी छन् । आफ्नो सम्बोधनका क्रममा ह्यारिसले शान्तिपूर्ण शासन हस्तान्तरणको लागि ट्रम्पलाई सहयोग गर्न आह्वान गरेकी हुन् ।
ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाब दिइन् । ह्यारिसले आफू वर्तमान राष्ट्रपति जो बाइडनसँग मिलेर सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्न कार्यमा लाग्ने बताइन् । ह्यारिसले राष्ट्रपतीय चुनावबारे ब्रिफिङ लिनुभएको र आन्तरिक कर्मचारी बैठकमा भाग लिएकी छन् ।
चुनावमा पराजय भोगेपछि हावर्ड विश्वविद्यालयमा आयोजित आफ्नो पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई ट्रम्पको जित स्वीकार गर्न समेत अपिल गरिन् । उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ समेत आश्वासन दिइन् । चुनावको नतिजा आफूहरुले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन आग्रह गरिन् । यसैबीच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोनमार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि आफ्ना प्रतिबद्धता व्यक्त गरे । बाइडनले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि आमन्त्रण गरे ।
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए। बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत प्राप्त गरेका छन् भने ह्यारिसले २२३ मत रहेको छ । केही ठाउँमा मतगणना जारी छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ लिनेछन् ।