Logo

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिंदै

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिंदै



काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व मंगलवारबाट विधिवत रुपमा शुरु भएको हो । छठको मुख्य विधि अन्तर्गत पहिलो दिन अरबा–अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

सोहि अनुसार पर्वको पहिलो दिन मंगलबार व्रतालु महिला र पुरुषहरुले नहाय खाय अर्थात् नुहाएर खाएका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका थिए ।

पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिँदै छठ पर्व धुमधामकासाथ मनाइँदैछ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । त्यस्तै षष्ठीका दिनअर्थात् आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, रत्नसागरलगायत तराई–मधेशको पोखरी, नदी, तलाउ र जलाशयहरुलाई नवदुलहीझैं सजाईएको छ । षष्ठीका दिन आज साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

त्यस्तै त्यसको भोलिपल्टअर्थात् आईतवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोर्होयाई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्