काठमाडौं । नेपालमा सञ्चालनमा रहेका प्रमुख दूरसञ्चार सेवा प्रदायकहरुको सेवा गुणस्तरीय नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सेवाप्रदायकहरुले हाल प्रदान गर्ने मुख्य गरि भ्वाइस र डाटा सेवामा उपभोक्ताले कम्पनीले भनेबमोजिम उपयुक्त गुणस्तरको सेवा प्राप्त गर्न नसकेको गुनासो गर्दै आएका छन् । सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नेटवर्क सुधारमा ध्यान नपुग्दा सेवाको गुणस्तर थप खस्कदै गएको छ । डाटा सेवामा तीव्र पतिस्पर्धा बढिरहँदा देशैभर सेवा विस्तार गरेको दाबीबीच नेपाल टेलिकमको भ्वाइस र मोबाइल इन्टरनेटको गुणस्तर भने संघीय राजधानी काठमाडौंमै कमजोर रहेको पाइन्छ ।
हालसम्म टेलिकमले नेपालमा फाइभजी परीक्षणका लागि भन्दै करोडौं खर्च गरिसकेपनि भइरहेको नेटवर्कमा नै ध्यान नपुर्याउँदा सेवाग्राहीहरु लगातार मर्कामा परिरहेको पाइएको हो । दूरसंचार क्षेत्रको नियामकी निकाय नेपाल दूरसंचार प्राधिकरणले बेलाबेलामा गर्ने ड्राइभ टेष्ट र अन्य प्रकारका जाँचहरुमा समेत काठमाडौं उपत्यकाकै धेरै स्थानहरुमा दूरसंचार सेवाप्रदायकहरुको सेवा नाजुक रहेको देखिँदै आएको छ । अझ सरकारी स्वामित्वको टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवामा बढी नै समस्या देखिने गरेको उपभोक्ताहरु बताउँछन् ।
राजधानीमा सबैभन्दा धेरै जनसंख्याले उपयोग गर्ने भएपनि घना बस्ती, गहिरो स्थान र कुनाकानीमा अझैपनि नेपाल टेलिकमको कलमा विभिन्न समस्याका साथै मोबाइल इन्टरनेट राम्ररी नचल्ने गुनासो ग्राहकले गर्दै आएका छन् । तर, टेलिकम नेतृत्वको ध्यान भने गुणस्तर सुधारमा नपुग्दा सेवाग्राहीहरु मर्कामा परिरहेका छन् भने कम्पनीको सेवामा नै प्रश्न उठ्ने गरेको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार हाल प्राधिकरणमै पनि टेलिकम कम्पनीहरुको सेवाको गुणस्तरका सम्बन्धमा धेरैभन्दा धेरै गुनासोहरु आउने गरेका छन् । जसमध्ये पनि टेलिकम कम्पनीहरुमा पनि नेपाल टेलिकमको नेटवर्क नटिप्ने, फोन गर्दा बेलाबेलामा विच्छेद हुने, डाटा राम्रोसँग नचल्ने र धेरैजसो स्थानमा नेटवर्कले कामै नगर्ने समस्या रहेको देखिन्छ ।
यता देशैभर गुणस्तरीय सेवा बिस्तार गरेको दाबी गर्दै आएको अर्को सेवाप्रदायक एनसेलका सेवाग्राहीको मर्म पनि त्यस्तै छ । निजी क्षेत्रको लगानी रहेको एनसेलको डाटा सेवामा पनि काठमाडौंकै धेरै स्थानमा समस्या देखिने गरेको पाइएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । एकातर्फ टेलिकम कम्पनीहरु फाइभजी परीक्षण गर्ने भन्दै तम्सिएका छन् भने अर्काेतर्फ भईरहेकै सेवा निरन्तरतामा ध्यान नदिँदा सेवा प्रवाहको गुणस्तमा प्रश्न उठ्ने गरेको प्राधिकरणका एक उच्च अधिकारीले बिजखबरलाई बताए । अर्थात टेलिकम कम्पनीहरु फाइभजीतिर आकर्षित भइरहँदा सेवाग्राहीहरुले भने अझै पनि थ्रिजी नै राम्रोसँग चलाउन नपाएको देखिन्छ ।
अझ नेपाल टेलिकमले त नेपालमा फाइभ जी परीक्षणका लागि भन्दै झण्डै पौने २ करोड रुपैयाँ खर्चसमेत गरिसकेको छ । समयमै यसको उचित नतिजा दिन नसकेपनि टेलिकमले काठमाडौंका २ स्थान र अन्य ३ सहरहरुमा यसको जडान गरि परीक्षणसमेत गरिसकिएको दावी गर्दै आएको छ । यता अर्काे दूरसंचार कम्पनी एनसेलले पनि आफु फाइभजी परीक्षण गर्न तयारी अवस्थामा रहेपनि सरकारले हालसम्म यसको अनुमति नदिएको भन्दै गुनासो गर्दै आइरहेको छ । प्राधिकरणले विस २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परीक्षणको लागि भन्दै नेपाल टेलिकमलाई अनुमति दिएको थियो । त्यसबेला टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परीक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परीक्षण गर्न निर्देशन दिइएपनि टेलिकमले विभिन्न बहाना बनाउँदै १४ महिनापछि काठमाडौंमा सुन्धारा र बबरमहलबाट फाईभजीको आन्तरिक परीक्षण सम्पन्न गरेको घोषणा गरेको थियो ।
यस्तै टेलिकमले बागमती प्रदेशका दुई स्थानमा, गण्डकी प्रदेशको पोखरा र मधेश प्रदेशको बिरगंजमा पनि फाईभजीका उपकरण जडान गरी आन्तरिक परिक्षण पुरा गरिसकेको घोषणा गर्दै आएको छ । तर यो परीक्षणको चित्तबुझ्दो नतिजा टेलिकमले हालसम्म न सार्वजनिक गर्न सकेको छ न नियामक निकायलाई नै दिन सकेको छ । जसका कारण फ्रिक्वेन्सी दिएको समय पनि सकिएको भन्दै प्राधिकरणले फाइभजी परीक्षणका लागि टेलिकमलाई दिएको २६ सय मेगाहर्ज फ्रिक्वेन्सी नै फिर्ता लिईसकेको छ । पछिल्लो करिव ३ बर्षदेखि टेलिकमले आफुले फाईभजी परीक्षण सफल भएको बताउँदै आएपनि पछिल्लो समय कम्पनीको नेटवर्कमा देखिएको समस्या र फाईभजी परीक्षणको नतिजा लुकाउनाले कम्पनीको कार्यक्षमतामा नै प्रश्न उब्जिएको छ ।