काठमाडौं । नेपालमा अक्टोबर २०२४ मा मात्रै १ लाख २४ हजार ३ सय ९३ जना पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ६.०४ प्रतिशतले बढी हो । २०१९ को तुलनामा यसले ९२.७६ प्रतिशत पुनःस्थापनाको संकेत गरेको छ । नेपालमा पर्यटन क्षेत्र विस्तारै पुरानै स्थितिमा फर्किन थालेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार नेपालको पर्यटन आवागमन कोरोना महामारी पहिलेकै अवस्थामा फर्किएको देखिन्छ ।
गत बर्ष अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा यही महिनामा ८८ हजार ५८२ पर्यटक भित्रिएका थिए भने सन् २०२१ मा २३ हजार ३३८ जना र सन् २०२० मा २ हजार २५ जना मात्र नेपाल आएका थिए । सन् २०१९ मा भने अक्टोबर महिनामा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भित्रिएका थिए ।
अक्टोबर २०२४ मा नेपालबाट बाहिरिएका यात्रुहरूको संख्या १ लाख ४ हजार ६८२ पुगेको छ । पर्यटन क्षेत्रले कोभिड महामारीको कठिन समय पार गर्दै पुरानो स्थितिमा फर्किने प्रयास गरिरहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको ।
यस अवधिमा नेपालमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । अक्टोबर २०२४ मा भारतबाट १६ हजार ३ सय १३ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १३.११ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिकाबाट १६ हजार २३ जना पर्यटक आएका छन्, जसको हिस्सा १२.८८ प्रतिशत छ ।
बेलायटबाट यसै अवधिमा ८ हजार १९ जना पर्यटक नेपाल आएका छन्, जसले कुल आगमनको ६.४५ प्रतिशत हिस्सा ओगटेको छ । चौथो स्थानमा चीनबाट ७ हजार ७५० जना पर्यटक आएका छन्, जुन ६.२३ प्रतिशत हो ।
अष्ट्रेलियाबाट ६ हजार ९२९ जना पर्यटक आएका छन्, जसको हिस्सा ५.५७ प्रतिशत छ ।जर्मनीबाट ६ हजार १८ जना, जसको हिस्सा ४.८४ प्रतिशत छ, फ्रान्सबाट ५ हजार ४८५ जना, जसको हिस्सा ४.४१ प्रतिशत छ, बङ्गलादेशबाट ४ हजार ४७६ जना, जसको हिस्सा ३.६० प्रतिशत छ, श्रीलङ्काबाट ३ हजार १२५ जना, जसको हिस्सा २.५१ प्रतिशत छ, र इटालीबाट २ हजार ६३५ जना पर्यटक नेपाल आएका छन्, जसको हिस्सा २.१२ प्रतिशत छ ।