Logo

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर बदली र वर्षाको सम्भावना



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भएको छ । आज (सोमबार) मध्यान्ह् उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा अहिले वर्षा भइरहेको मौसमविद गोविन्द झाले बताए ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनैभरी रहने उनले जानकारी दिएका छन् । ‘आज दिनभर बदली र वर्षाको सम्भावना छ । छिटपुटदेखि मध्यम वर्षा भइरहेको छ । भारी वर्षा भने भएको छैन,’ उनले भने ।

उनकाअनुसार मंगलबारबाट मात्रै मौसममा सुधार आउने देखिन्छ । ‘हामीले तिहारमा पानी पर्छ भनेर यसअघि नै प्रक्षेपण गरेका थियौं । भोलिबाट मात्रै मौसममा सुधार आउँछ,’ उनले भने । धान थन्क्याउने याम पानी पर्दा किसानहरू चिन्तित बनेका छन् । भोलिबाटै मात्रै बाली थन्क्याउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालको मौसम प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुको प्रभावका छ । त्यस्तै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण वर्षा भइरहेको हो ।

सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको थियो । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको थियो ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्