Logo

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात



काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको हो।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो ।

लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यो वर्ष बाढी पहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतकाे माग १,८५५ मेगावाट रेकर्ड गरिएको छ । अघिल्लो वर्ष प्रणालीको पिक डिमाण्ड १,९५५ मेगावाट थियो । यसवर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्