काठमाडौं । पत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धनतेरस विशेष गरी नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँछन् । यसलाई सम्पत्ति, समृद्धि, र सौभाग्यको प्रतीक मानिन्छ ।
धनतेरसको दिन सुन, चाँदी, भाँडाकुँडा, गहना र गाडीजस्ता सामान खरिद गर्न शुभ मानिन्छ । यस दिनमा गरिने खरिदलाई आगामी वर्षको लागि आर्थिक सफलता र समृद्धिको संकेत मानिन्छ । यसैकारण सुनचाँदी व्यवसायीहरुले यो दिनलाई आफ्नो व्यापारका लागि विशेष दिनका रुपमालिने गरेका छन् । तर, यसपटक अघिल्ला बर्षहरु झैं यो वर्ष धनतेरसको दिन पनि व्यवसायीहरुमा उत्साह देखिदैन ।
तिहारको रौनक त्यसैमाथि आज धनतेरस अर्थात धन भित्र्याउने दिन । यो दिनमा धेरैजसो हिन्दु धर्मावलम्बीहरुले घरमा लक्ष्मी भित्रिने आकंक्षासहित सुन, चाँदीलगायतका बहुमूल्य वस्तुहरु भित्र्याउने गर्दछन् । अझ नेपालको सुन चाँदी बजारमा भने आजकै दिन सबैभन्दा बढी सुन र चाँदी विक्री हुने गरेको छ । यसपटक भने त्यस्तो रौनक नभएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय सुनचाँदी बजारमा देखिएको मन्दी आज पनि उस्तै रहँदा व्यवसायीमा निराशा छाएको छ । सुनचाँदी पसलहरुमा सुन र चाँदी खरीद गर्ने को घुईँचो छैन् । व्यवसायीहरुले खरिद गरेको सुन पछिल्लो समय थुप्रिँदै गएको छ ।
पछिल्लो समय विश्वबजारमै लगातार बढिरहेको सुनको मूल्यका कारण नेपालमा पनि सुनको मूल्य आकाशिएको छ । अहिले एक तोला सुन किन्नकै लागि पनि १ लाख ६८ हजार रुपैयाँ माथि खर्चनुपर्छ । अर्थात पछिल्ला बर्ष तथा महिनाहरुमा यसको मूल्य लगातार उकालो लागिरहेकै छ । विश्वबजारमा विभिन्न घटनाक्रमका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनलाई अपनाएपछि यसको माग उच्चतम बढेको र मूल्य पनि सोहीअनुसार रकेटको गतिमा मूल्य बढेको विश्लेषकहरु बताउँछन् ।
नेपालमा भने सुनको मूल्य पछिल्लो ६ महिनामा मात्रै प्रतितोला झण्डै ४० हजार रुपैयाँले बढिसकेको छ । यसअघि गत चैतको अन्त्यसम्म १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो । पछिल्लो समय बढिरहेको सुनको मूल्यकै कारण अघिल्ला बर्षहरुमा जस्तो यो बर्ष आजको दिन पनि सुनचाँदी पसलहरुमा भीड नलागेको व्यवसायीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बढेको मूल्यले बजारमा सुनको मागमा निरन्तर गिरावट आइरहेको बताए । ‘अघिल्ला वर्षहरुमा दशैं, तिहार, तिजलगायतका चाडपर्वहरुमा दैनिकजसो ३५ देखि ४० किलो आसपासमा सुनको विक्री हुने गरेको थियो,’ उनले भने, ‘यसपटक विक्री आधाभन्दा बढीले घटेको छ ।’ नेपालमा सबैभन्दा बढी सुन विक्री हुने आजकै दिनमा समेत सुनको विक्री उल्लेख्य नहुने आँकलन गरिएको उनले बताए ।
सुनचाँदीको व्यापारमा आजको दिनले महत्वपूर्ण प्रभाव पार्ने भएपनि यसपटकको धनतेरसमा सुनको विक्रीमा भनेबमोजिमको प्रभाव नरहेको महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । यस पर्वको आर्थिक प्रभावको कारणले सुनचाँदी व्यवसायीहरूको लागि यो महत्त्वपूर्ण व्यापारिक अवसर बन्ने भएपनि चालु आवको धनतेरसले सोही अनुसारको रौनक नल्याएको उनले बताए ।
आज विश्व बजारमा सुनको मूल्य २ हजार ७ सय ५४ डलर प्रतिऔंसमा कारोबार भइरहेको छ । यो पछिल्लो ६ महिनाको तुलनामा १९.७४ प्रतिशतले बढी हो । यता नेपाली बजारमा भने आज सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । आज धनतेरसकै दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदी पनि प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।