Logo

अराजक तत्वले औद्योगिक बातावरण बिगारेको भन्दै प्रधानमन्त्री रुष्ट, भने-विद्युत प्राधिकरणले बिल दिनुपर्छ, उद्योगीले तिर्नुपर्छ

अराजक तत्वले औद्योगिक बातावरण बिगारेको भन्दै प्रधानमन्त्री रुष्ट, भने-विद्युत प्राधिकरणले बिल दिनुपर्छ, उद्योगीले तिर्नुपर्छ



काठमाडौं । प्राधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय अराजक तत्व हावी हुँदा देशमा औद्योगिक बातावरण बिग्रिएको बताएका छन् । बालुवाटारमा उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले पछिल्लो समय अराजक तत्व हावी हुँदै जाँदा त्यसले देशको आर्थिक अवस्थामा समेत असर पुर्याएको बताएका हुन् ।

पछिल्लो समय केही तत्वहरु बैंकको ब्याज तिर्न पर्दैन भन्दै मासलाई भड्काउने र केहीले हचुवाको भरमा उद्योगीहरुलाई दुःख दिने गरेका कारण औद्योगिक वातावरणमा असर पुर्याएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘अहिले उद्योग व्यवसाय संचालन गर्नुपर्ने अवस्थामा विद्युत बक्यौताको विषय उठाएर उद्योगको लाईन काटिएको छ,’ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै उनले भने, ‘प्राधिकरणले उद्योगीले उपयोग गरेको बिजुलीको विल दिनुपर्छ उद्योगीले पनि आफुले उपयोग गरेको विजुलीको पैसा तिर्नुपर्छ ।’ विद्युत बक्यौताको विषयमा केही पनि उम्कन नमिल्ने उनको तर्क थियो । तर उद्योगीसँग पैसा छ भन्दैमा सरकारले उद्योगीको पैसा विना आधार असुली गर्न नमिल्ने उनको भनाई छ ।

अहिले उद्योगको लाईन काटेर औद्योगिक वातावरण बिगार्नुभन्दा पनि प्राधिकरणले उद्योगीले उपयोग गरेको बिजुलीको बिल दिने र उद्योगीले पनि सोही आधारमा आफुले उपभोग गरेको विद्युतको पैसा तिर्नुपर्ने उनको भनाई थियो । साथै पछिल्लो समय केही खराब तत्वहरुले देशमा औद्योगिक वातावरण विगारेको भन्दै सरकारले त्यसलाई समाधान गर्दै अघि बढ्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।

पछिल्लो समय विद्युत बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुको लाइन काटेसँगै त्यसले थप तरङ्ग पैदा गरेको छ । सो विषयमा उद्योगीहरुले आफुले उपयोग गरेको विजुलीको बिल माग गरिरहेका छन् भने प्राधिकरणले आफुले जारी गरेको बिलको पैसा तिरेपछि मात्रै लाइन जोडिदिने भन्दै अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्