Logo

जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ४१ अर्ब बढी बीमा शुल्क, सावधिकबाटै सवा १५ अर्ब बढी संकलन

जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ४१ अर्ब बढी बीमा शुल्क, सावधिकबाटै सवा १५ अर्ब बढी संकलन



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तीन महिनामा सावधिक बीमालेखमार्फत मात्रै सवा १५ अर्ब बढी संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले ३ महिनाको अवधिमै उक्त बीमालेखमार्फत १५ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो पछिल्लो ३ महिनामा संकलन भएको कुल बीमाशुल्कको झण्डै आधा हो ।

चालु आवको पछिल्लो ३ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ३० करोड १४ लाख बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने ०.६८ प्रतिशतले मात्रै बढी हो । यी बीमा कम्पनीहरुले १० प्रकारका बीमालेखमार्फत बीमाशुल्क संकलन गर्ने गरेका छन् । जसमध्ये सबैभन्दा बढी विक्ने र धेरै बीमाशुल्क आर्जन गर्ने बीमालेख भने सावधिक जीवन बीमा हो ।

खासगरी सावधिक जीवन बीमा म्यादी जीवन बीमा र विशुद्ध सावधिक जीवन बीमाको मिश्रण हो । अर्थात् सावधिक जीवन बीमामा जोखीम तथा बचत दुवै तत्व समावेश भएको हुन्छ, जसका कारण यो जीवन बीमामा बढी नै आकर्षण रहँदै आएको बीमाविज्ञहरु बताउँछन् । सावधिक जीवन बीमालाई पारिवारिक आर्थिक सुरक्षाका साथै आफ्नो आर्थिक सुरक्षाको रूपमा लिन सकिन्छ । यस जीवन बीमामा बचत पक्षसमेत भएकाले यस जीवन बीमालाई बुढेसकालका लागि धेरै ठूलो सहाराको रूपमा पनि लिन सकिने विज्ञहरु बताउँछन् । कतिपय व्यक्तिले छोराछोरीको उच्च शिक्षा, तिनीहरूको विवाहमा लाग्ने खर्चलाई ध्यानमा राखी यस्ता प्रकारका जीवन बीमा गरेका हुन्छन् । अन्य जीवन बीमाजस्तै सावधिक जीवन बीमामा समर्पण र बीमालेखलाई चुक्ता मूल्यमा परिवर्तन गर्न सक्ने तथा बीमालेखलाई धरौटी राखेर ऋण लिन सक्ने प्रावधानसमेत रहेको हुन्छ । सावधिक जीवन बीमा विभिन्न रूपमा प्रचलनमा छन् ।

चालु आवको असोज मसान्तसम्म यो जीवन बीमा गर्नेको संख्या मात्रै २० लाखमाथि छ । यस्तै धेरै बीमाशुल्क आर्जन भएको अर्काे बीमालेख भने अग्रिम भुक्तानी सावधिक जीवन बीमा हो । असोज मसान्तसम्म नेपालका बीमा कम्पनीहरुले ४ लाख ४७ हजार जनालाई यस्तो बीमा विक्री गरेका छन् । जसमार्फत पछिल्लो ३ महिनामै यस्तो बीमालेखमार्फत ९ अर्ब १९ करोड ७१ लाख रुपैयाँ आर्जन भएको छ । यस्तै यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३७ करोड रुपैयाँ बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखमार्फत, ५ अर्ब ४३ करोड रुपैयाँ रुपान्तरित सावधिक जीवन बीमामार्फत, १ अर्ब ११ करोड रुपैयाँ आजिवन जीवन बीमार्फत र ८० करोड ३६ लाख रुपैयाँ अन्य जीवन बीमालेखमार्फत आर्जन गरेका छन् ।

नेपालका जीवन बीमा कम्पनीहरुले यसबाहेक वैदेशिक रोजगार म्यादी जीवन बीमा, एकल बीमाशुल्क बीमा म्यादी जीवन बीमा र लघु जीवन बीमामार्फत बीमाशुल्क आर्जन गर्दै आएका छन् । हालसम्म यी कम्पनीहरुले १ करोड ३७ लाख ६६ हजार बीमालेख जारी गरिसकेका छन् । त्यसमध्ये सबैभन्दा बढी बीमालेख भने बागमती प्रदेशमा ९७ लाख ६२ हजार बीमालेख जारी भएका छन् । यससँगै हालसम्म कोशी प्रदेशमा १० लाख ८६ हजार, लुम्बिनी प्रदेशमा १० लाख ८ हजार, मधेश प्रदेशमा ६ लाख ४ हजार, गण्डकी प्रदेशमा ५ लाख ३७ हजार, सुदूरपश्चिम प्रदेशमा ५ लाख ३० हजार र कर्णाली प्रदेशमा सबैभन्दा कम २ लाख ३७ हजार जीवन बीमालेख जारी भएका छन् ।

यसरी जारी भएका बीमालेखमार्फत जीवन बीमा कम्पनीहरुले चालु आवको ३ महिनामा कुल ४१ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफले ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस्तै यस अवधिमा नेशनल लाइफले ४ अर्ब ९ करोड, एलआइसी नेपालले ४ अर्ब ५७ करोड, हिमालयन लाइफले ४ अर्ब ३१ करोड र सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसै अवधिमा एशियन लाइफले २ अर्ब ३ करोड सिटिजन लाइफले १ अर्ब ७४ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड, मेट लाइफले १ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड र प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । बीमा प्राधिकरणका अनुसार चालु आवको ३ महिनामा आइएमई लाइफले १ अर्ब २१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्