Logo

राजमार्गको दायाबायाँ सयपत्री फूल, फूल बिक्री गरेर दुई लाख आम्दानी

राजमार्गको दायाबायाँ सयपत्री फूल, फूल बिक्री गरेर दुई लाख आम्दानी



काठमाडौं । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, ‘गत वर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरें ।’ उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, ‘गत वर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’

यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन् । कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको सम्भावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीन जनालाई रोजगार समेत दिएका छन् । उनले भने, ‘तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्