Logo

रवि लामिछानेलाई ‘तँ’ नभनेको भन्दै कास्की प्रहरीले भन्यो–भ्रम फैलाइयो

रवि लामिछानेलाई ‘तँ’ नभनेको भन्दै कास्की प्रहरीले भन्यो–भ्रम फैलाइयो



काठमाडौं ।  पूर्व–उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको बारेमा सामाजिक सञ्जालहरूमा आएका विचारहरूमा कास्की प्रहरीको ध्यानाकर्षण भएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेका विषयमा केही दिनयता विभिन्न सामाजिक सञ्जालहरूमा आएका विचारहरूमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

गत कात्तिक आठ गते लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको लगायतका कुराहरू टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भेटिएका छन् ।

तर कास्की प्रहरीले भने यी सबै भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू भएको भन्दै यी सबै कुराहरूमा कास्की प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । गलत सूचनाको सम्प्रेषण गर्दा मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित सूचनाहरू मात्रै फैलाउन प्रहरीले अनुरोध गरेको छ ।

‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ’, प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ ।’

कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषण गरिदिन समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्