Logo

तिहारको झिलिमिली बत्तीमा आर्थिक मन्दी र अन्य प्रभाव : आयात दोब्बरले घट्यो, विक्री लगातार खस्किँदै

तिहारको झिलिमिली बत्तीमा आर्थिक मन्दी र अन्य प्रभाव : आयात दोब्बरले घट्यो, विक्री लगातार खस्किँदै



काठमाडौं । चालु बर्षको तिहारका लागि आयात हुने झिलीमिली बत्तीको आयात अघिल्ला बर्षहरुको तुलनामा ह्वात्तै घटेको छ । यसपटक असोज १२ गतेदेखि परेको अविरल बर्षाका कारण तातोपानी र केरुङ नाकामा समस्यापछि यी नाकाबाट हुने चिनियाँ आयात नै ठप्प प्राय बनेको थियो । जसको फलस्वरुप तिहारका चीनबाट आयात हुने ओखर, फलफूल, झिलीमिली बत्तीलगायतका सामग्रीहरुको आयात ठप्प बनेको हो ।

भन्सार विभागले सार्वजनिक गरेका चालु आर्थिक बर्षको ३ महिनाको तथ्यांकले समेत यस्तो देखाएको छ । खासगरी नेपालमा तिहारका लागि आवश्यक मानिने कृत्रिम दियोहरु (झिलिमिली बत्ती) चीनबाट नै आयात गरिन्छ । नेपालले गत आर्थिक बर्ष २०८०÷८१ को पहिलो ३ महिनामा तिहारका लागि आवश्यक मानिने यस्ता बत्तीहरु झण्डै १० करोड रुपैयाँ बराबरको आयात गरेको थियो । तर, चालु आवमा यस्ता बत्तीको आयात घटेर ४ करोड रुपैयाँमा सीमित भएको देखिन्छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो ३ महिनामा ४ करोड ७४ लाख रुपैयाँ बराबरको ३ लाख १९ हजार थान यस्ता बत्ती आयात भएका छन् । जबकि गत आवको यहि अवधिमा नेपालमा ९ करोड ८४ लाख रुपैयाँ बराबरको ७ लाख ७८ हजार थान बत्ती आयात भएको थियो ।

यस बर्ष अघिल्ला बर्षहरुको तुलनामा चिनियाँ नाकामा आएको समस्या र विक्री पनि घटेका कारण आयातमा गिरावट आएको व्यापारीहरु बताउँछन् । नेपालमा विद्युतीय सामग्रीहरुको विक्री वितरण गर्ने व्यापारीहरुको संगठन नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटा दुई कारणले झिलीमिली बत्तीको आयातमा गिरावट आएको बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष देखिएको आर्थिक मन्दीका कारण नयाँ भवनहरु नबनेपछि यस्ता बत्तीहरुको विक्री नेपालमा उल्लेख्यरुपमा घटेको छ ।

पुरानो घरमा यस्ता बत्तीहरु एकपटक लगेपछि करिव ५ बर्षसम्म ढुक्कै हुन्छ । केहि केहि विग्रेको बाहेक ४ बर्षअघि यस्ता बत्तीहरु किनेका ग्राहकहरुले पुनः किन्दैनन् । तर, यस्ता बत्तीको खपत तिहारमा नयाँ घरहरुमा बढी नै प्रयोग हुन गरेको भएपनि पछिल्ला बर्षमा भने विक्रि घट्दै गएको उनी बताउँछन् । ‘अन्य समयको तुलनामा तिहारमा यस्ता बत्तीहरुको व्यापार र माग उच्च हुन्छ तर, यसपल्ट पनि व्यापार अन्य समयको तुलनामा बढी त छ तर, अघिल्ला बर्षको तिहारहरुमा जस्तो रौनक छैन,’ उनले भने, ‘पछिल्ला बर्षहरुमा यसको विक्री लगातार ओरालो लागिरहेको हामीले महशुस गरेका छौं ।’

यसपटक झिलिमिली बत्तीको आयातमा ठुलो गिरावट आउनुको प्रमुख कारण भने चिनियाँ नाकामा देखिएको समस्या भएको उनले बताए । असोजभर नै चिनियाँ मुख्य दुबै नाका बन्द रहे । त्यसपछि केहि व्यापारीहरुले यस्ता सामग्री भारतको कलकत्ता हुने ल्याउने तयारी गरेपनि असोजसम्म नभित्रिएका त्यस्ता सामग्री भर्खरै भित्रँदैछन् । जसका कारण असोजसम्मको तथ्यांकमा गत बर्षभन्दा यसको आयातमा उल्लेख्य गिरावट आएको देखिन्छ ।

नेपालमा खासगरी चीन र भारतबाट यस्ता बत्तीहरुको आयात हुनेगरेको भन्सार विभागले जानकारी दिएको छ । यस्तै यस्तो बत्तीको आयात नेपालले कतार, बहराईन, अष्ट्रेलिया, नेदरल्याण्ड, साउदी अरेबीया, बेलायतलगायतका देशबाट पनि हुने गरेको छ । यसपटक चीनबाट मात्रै नेपालमा ४ करोड ४३ लाख रुपैयाँ बराबरका यस्ता बत्तीहरु आयात भएका छन् ।

प्रतिक्रिया दिनुहोस्