Logo

साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै

साफ सेमिफाइनल : नेपाल आज भारतसँग खेल्दै, आजै बंगलादेश र भुटान भिड्दै



काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । भारतलाई हराउँदै अघिल्लो यात्रा तय गर्ने दाउसाथ नेपाल मैदान उत्रनेछ ।

नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । जुन साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको पहिलो जित थियो  ।

अर्काे सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिड्दै छन् । यी दुई टोलीबीचको दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ । अघिल्लो संस्करणमा बंगलादेशले नेपाललाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको थियो । साफ महिला च्याम्पियनसिपमा नेपाल र भारत चीर प्रतिद्वन्द्वी टोली हुन् । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै यी दुई टोली उपाधिका लागि भिड्दै आएका छन् ।

नेपालले सन् २०१६ को बाहेक हरेक संस्करणको फाइनल खेलेको छ । तर ती सबै फाइनलमा उपविजेतामै चित्त बुझाउनु परेको छ । सन् २०१० मा भएको पहिलो संस्करणको फाइनलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो। सन् २०१२ मा ३–१ तथा २०१४ मा ६–० को फराकिलो हार व्यहोरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको फाइनलमा नेपाल ३–१ ले पराजित भएको थियो । सन् २०२२ को सेमिफाइनलमा भने नेपालले १–० को जित निकाल्दै साफमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारत भने अघिल्लो संस्करण मात्र सेमिफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्