Logo

राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग, टरिगाउँ एयरपोर्टसम्मको सडक स्तरोन्नतिको अन्यौलता

राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग, टरिगाउँ एयरपोर्टसम्मको सडक स्तरोन्नतिको अन्यौलता



काठमाडौं । दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्ग अन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् ।

राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने भनी सरकारले जनाउँदै आएको भन्दै यसले आफूहरुलाई अन्योल बनाएको बताए ।

उनका अनुसार सोही सडक वीरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दायाँ–बायाँतर्फका बासिन्दाहरु समस्यामा परिरहेका छन् । अहिले १५ मिटर सडक छोडेको भए पनि त्यसमा सडक पनि नबनेको र त्यसमा पर्ने खाल्डाखुल्डीले मानवीय क्षति पुगिरहेको जनाउँदै यसमा सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । अहिले फेरि २५ मिटर सडक र छ मिटर फुटपाथका लागि छोड्नुपर्ने कुरा उठिरहेको जनाउँदै यसले झनै अन्योल थपेको अध्यक्ष लामिछानेको भनाइ छ ।

यसमा अन्योल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्री वितरणमा समस्या हुने गरेको, बैंक ऋणसमेत पाउन नसकेको, घरको नक्सा पाससमेत रोखिएको अवस्था रहेको उहाँको भनाइ छ । सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटरभित्रका खाल्डा पुर्नपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का सात टोल विकास संस्थाका दुई सय ९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

यदि सडक विस्तार गर्नुपर्ने अवस्था आएमा नक्सा पास गरेर बनेका घरहरुलाई मुआब्जा दिनुपर्ने सङ्घर्ष समितिको भनाइ थियो । त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले देशभरका राष्ट्रिय राजमार्गका लागि २५ मिटर सडकका लागि छ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड रहेको जानकारी दिए ।

उनले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताए । तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काले राप्ती लोकमार्ग सङ्घीय सरकारको कार्य क्षेत्रभित्र पर्ने भएकाले आफूहरुले समन्वयको भूमिका खेल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नति हुँदा विद्युतका संरचना हटाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्