Logo

रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै, हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने तयारी

रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै, हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने तयारी



काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लैजान लागिएको हो ।

लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको जानकारी दिइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।

लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीसँग छिटो बयान सक्नुस् भन्नु भएको छैन । बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि !’ पूर्व डीआईजी जोशी असोज ६ मा पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्