Logo

एकसय दिनका उपलब्धि पेश गर्दै प्रधानमन्त्रीले भने-सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम गर्‍यो

एकसय दिनका उपलब्धि पेश गर्दै प्रधानमन्त्रीले भने-सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम गर्‍यो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनभित्र गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको बताएका छन् । बुधबार सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘साउन ६ गते विश्वासको मत लिँदा मैले यो सरकारका पाँच वटा प्राथमिकता रहेको प्रतिबद्धता जनाएको थिएँ,’ उनले भने, ‘जसमा थालेका काम अगाडि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो।’ जसमा पहिलो १०० दिनमा काम थालेका कामलाई प्रधानमन्त्री र मन्त्रीबिच कार्यसम्पादन सम्झौता भएर कामको वर्गीकरण गरिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री मन्त्रीबिच कार्यसम्पादन हुँदा पहिलो १०० दिन, दोस्रो १०० दिन र बाँकी दिनमा पूरा गर्ने गरी कामको वर्गीकरण भएको थियो,’ उनले भने,‘जसमा पहिलो सय दिन २७४ ओटा काम पूरा गर्ने लक्ष्य राखिएको थियो ।’ जसमध्ये १८५ वटा काम सकिएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अर्थात् यस सरकारले आफूले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभई दिएको भए ३० प्रतिशत काम पूरा गर्थ्याे ।’

प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् । सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको १०० दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताएका हुन् ।

‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ ।

‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ ।’ उनले भने, ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्