Logo

पूर्व अर्थमन्त्री वर्षमान पुनका कारण नेपाल बन्यो सुन तस्करको अखडा, समस्यामा व्यवसायी

पूर्व अर्थमन्त्री वर्षमान पुनका कारण नेपाल बन्यो सुन तस्करको अखडा, समस्यामा व्यवसायी



काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनको नीतिगत भ्रष्टाचारका कारण नेपाल सुन तस्करको अखडा बन्न पुगेको छ । पुनले तस्करसँगको मिलेमतोमा चालू आर्थिक वर्षको बजेटमा नीतिगत भ्रष्टाचार गर्दै कच्चा सुन आयातमा भन्सारदर बढाएपछि नेपाल सुन तस्करको अखडा बन्न पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय वैधानिक प्रणालीबाट सुन आयात गर्दा बढी भन्सार भएको र जसबाट तस्करीहरुले अबैध प्रणालीबाट सुन तस्कर गर्ने क्रम बढेको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । तर, वर्षमान पुनले तिनै तस्करलाई फाइदा पुग्नेगरी चालू आर्थिक वर्षको बजेटमार्फत कच्चा सुनको भन्सार २० प्रतिशत पुर्याइदिए । जसका कारण अहिले बैंकबाट आयात हुने सुनमा उच्च गिरावट आएको र तस्करीले ल्याएको सुन बजारमा छ्याप्छ्याप्ती भएको व्यवसायीहरु बताउँछन् । ‘नेपालमा सुनको भन्सार मूल्य बढी भएसँगै त्रिभुवन विमानस्थतलबाट सुन तस्कर हुने क्रम उच्च रुपमा बढेको थियो,’ एक व्यवसायीले भने, ‘पुन अर्थमन्त्री हुँदा भन्सार दर थप बढाएसँगै अहिले बैंकबाट सुन आयात हुन छाडेको छ भने बजारमा तस्करले भित्र्याएको सुन जतिपनि पाइन्छ ।’

नेपाल राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भनेपनि चालू आर्थिक वर्षमा पहिलो दुई महिनामा सुन आयात ६५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ४ अर्ब ५५ करोडको सुन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा उच्च गिरावट आउँदै १ अर्ब ५९ करोड रुपैयाँको मात्र सुन आयात भएको छ । तत्कालीन अवस्थामा पुनले बजेट निर्माणका क्रममा तस्करीलाई फाईदा पुग्नेगरी भन्सार मूल्य बढाएसँगै बैधानिक प्रणालीबाट हुने आयातमा उच्च गिरावट आएको हो ।

यसैगरी पुनले नेपालमा व्यवसायीलाई समस्या पर्नेगरि भारतबाट आयात हुने सुनको तयारी बस्तुमा लाग्ने भन्सार भने घटाइदिए । अहिले कच्चा सुन आयातमा २० प्रतिशत भन्सार तर भारतबाट आयात हुने सुनका तयारी गरगरहनामा ९.५ प्रतिशत मात्रै भन्सार लगाउँदा अहिले नेपालीहरुले नेपालबाट बनाउन छाडेर भारतबाट ल्याउन थालेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । जसका कारण अहिले नेपाली कालिगडको समेत रोजोरोटी खोसिन पुगेको छ ।

सरकारले बजेटमार्फत कच्चा सुनको भन्सार दर उच्च बनाएसँगै बैंकबाट हुने आयात रोकिएर तस्करीले भित्र्याएको सुन बजारमा छ्याप्छ्याप्ती रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘सुन आयातमा सरकारले बजेटमार्फत लिएको नीतिका कारण बैधानिक रुपमा काम गर्ने व्यवसायीहरु समस्यामा परेका छन् भने सरकारको राजस्व उठौती लक्ष्यमा समेत असर पारिरहेको छ,’ शाक्यले भने, ‘हामीले सुनको तस्करी रोकेर पारदर्शी व्यवसायी गर्न बजेटमार्फत कच्चा सुनको भन्सारदर घटाउन सुझाव दिएका थियौं तर अर्थमन्त्रीले उल्ठो बढाईदिँदा तस्करीलाई फाइदा पुगेको छ ।’

अहिलेको मूल्यमा तस्करहरुले अवैधानिक तरिकाले सुन भित्र्याउँदा उनीहरुलाई प्रतितोला ३३ हजार रुपैयाँ फाइदा हुन्छ । साथै त्यसरी ल्याएको सुन पसलले बैंकबाट ल्याएको भन्दा सस्तो मूल्यमा पाउने गरेका छन् । जसका कारण अहिले बजारमा बैधानिक तरिबाट भित्र्याइएको सुन पाउन छाडिएको सम्बद्ध व्यवसायीहरु नै बताउँछन् । ‘तस्करी गरेर ल्याउँदा तोलामै ३३ हजार फाइदा हुने भएपछि कसले बैधानिक प्रणालीबाट आयात गर्छ,’ एक व्यवसायीले भने, ‘जसका कारण अहिले बजारमा पारदर्शी तरिकाबाट काम गर्छु भन्ने व्यवसायीले पनि तस्करीबाट भित्रिएको सुन बिक्री गर्नुपरेको छ ।’

केही समयअघि महालेखा परिक्षाको कार्यालयले गरेको अनुगनको क्रममा पनि विशेषगरी न्यूरोडका व्यवसायीले १३ प्रतिशत सुनमात्रै बैधानिक प्रणालीबाट आएको बिक्री गर्ने गरेको भेटिएको थियो । सरकारले विचौलियासँगको मिलेमतोमा सुनको भन्सारदर बढाउँदा बजारमा बैधानिक प्रणालीबाट आयात गरिएको सुन बिक्री हुन छाडेको व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्