Logo

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा सुरक्षा व्यवस्था कडा

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा सुरक्षा व्यवस्था कडा



काठमाडौं । सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) कास्की जिल्ला अदालत पेश गर्ने भएको छ । गत शुक्रबार काठमाडौंमा पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।सोही आधारमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको थियो । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् ।

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाब कार्यक्रमको नेतृत्व गरिरहेका छन् । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

सूर्य दर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका लामिछानेलाई पक्राउ गरिएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेको थियो । सोही मुद्दामा पूर्व एआइजी छबिलाल जोशी र सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अहिलेसम्म फरार छन् । लामिछानेविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्