Logo

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली

अब लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एपमार्फत देखाए हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले अब नागरिक एपमार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको जानकारी गराएका छन् ।

उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ । यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ । ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्नेछ । यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ । ओलीले भनेका छन्, ‘हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं । यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्