Logo

यस वर्षको दसैंमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

यस वर्षको दसैंमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री



काठमाडौं । यस वर्षको दसैंमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन् ।’ गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।

जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु १० हजार कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो । रासस

प्रतिक्रिया दिनुहोस्