Logo

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस् : प्रधानमन्त्री

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।

विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । ‘जो जहाँ छौ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु’, उनले भने ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैं टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् । ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनु पर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन’, उनले भनेका छन्, ‘दसैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्‍यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे । ‘प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।’

उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे । ‘सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको आँशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनर्निर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्