Logo

देशभर नेपाल टेलिकमको सेवामा समस्या, समाधानमा चासो नदिदा सेवाग्राही दोहोरो मारमा

देशभर नेपाल टेलिकमको सेवामा समस्या, समाधानमा चासो नदिदा सेवाग्राही दोहोरो मारमा



काठमाडौं । सरकारी कम्पनीका रुपमा चिनिएको नेपाल टेलिकमको सेवामा समस्या जारी रहँदा उपभोक्ताहरु गम्भीर मारमा परेका छन् । विश्वमै तत्कालै सम्पर्कका लागि सबैभन्दा विश्वासिलो माध्यमका रुपमा चिनिएको दूरसञ्चार सेवा नेपाल टेलिकमका उपभोक्ताका हकमा भने झनझन अविश्वासपूर्ण बन्दै गएको छ ।

समयमै फोन नलाग्ने, लागेपनि कुरा गर्दागर्दै काटिने, फोन गरेको बेलामा स्विच अफ भन्नेलगायतका समस्या विगतदेखि नै रहेपनि टेलिकमले समस्या समाधानमा उपयुक्त काम नगर्दा अहिले झन गम्भीर बन्दै गएको देखिन्छ । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल दूरसंचार प्राधिकरणमा टेलिकमप्रति बढ्दो गुनासोले नै यसको पुष्टि गर्छ ।

टेलिकमको सेवामा समस्या आउँदा उपभोक्ताहरु भने दोहोरो मारमा पर्ने गरेका छन् । एकातिर कल सफल नहुँदा आफ्नो अत्यावश्यक काम नबन्ने समस्या हुन्छ भने अर्कोतर्फ, कलमा समस्या आएर संवाद हुन नसकेपनि शूल्क भने काटिने गर्छ । यसले उपभोक्ताले अहिले दोहोरो मारमा परेको भन्दै प्राधिकरणमा उजुरी गरिरहेका छन् । सरकारी भनेपछि यसैपनि बेलैमा आवश्यक काम नगर्ने भाष्य रहेको छ । त्यसमाथि पछिल्लो समय नेपाल टेलिकमले आफ्नो सेवा पुर्याएका स्थानहरुमा समयमै मर्मत नगरिदिँदा यसले त्यो भाष्य झन मलजल गरिरहेको देखिन्छ । प्राधिकरणका एक अधिकारीका अनुसार दूरसंचार सेवाप्रदायकहरुले आफ्टर सर्भिसमा उच्च ध्यान नदिँदा एकातर्फ ग्राहकहरुलाई मर्का पर्छ भने अर्कातिर समग्र दूरसंचार सेवाको पहुँचमै धक्का लाग्ने गरेको छ ।

केहिदिन अघि भारी बर्षाले निम्त्याएको बाढी पहिरोका कारण नेपाल टेलिकमका ७ सय बढी बिटीएस टावरमा विजुली आपर्ति रोकियो । कोशी र बागमती सँगै गण्डकी प्रदेशमा बाढीले वितण्डा मच्चाएपछि त्यहाँका स्थानीयले टेलिकमको पहुँचबाट केहि समय विमुख पनि हुनुपर्याे । तर, टेलिकमले भने सेवाग्राहीको मर्कालाई बुझेन र मर्मतका लागि गईदिएन । जसका कारण हालसम्म पनि कतिपय स्थानहरुमा अझै फोन नलाग्ने, लागेपनि कुरा गर्दागर्दै काटिने, फोन गरेको बेलामा स्विच अफ भन्नेलगायतका समस्या देखिएको गुनासो नेपाल दूरसंचार प्राधिकरणमा बढेको छ ।

यता नेपाल टेलिकमले भने केहिदिन अघि आएको बाढीले देशभरका करिव ७ सय स्थानमा टेलिकमको सेवा अवरुद्ध भएको र उक्त समस्या हाल समाधानको बाटोमा रहेको जानकारी दिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बाढी पहिरोले बीटीएस टावरमा मात्र क्षति नभई बिजुलीको पहुँच पनि विच्छेद गरिदिएको थियो । बिटीएस टावरमा बिजुली नै नपुगेपछि सेवाग्राहीलाई समस्या भएको उनले बताए । तर, हाल टेलिकमले बिजुली नपुगेका र मुख्य बिटीएर टावरमा भने जेनरेटर नै चलाएर पनि सेवा प्रवाह गरिरहेको उनले बताए । ‘हामीले मुख्य स्थानहरुमा जेनरेटरबाटै पनि सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘अब नेपालभर करिव १ सय स्थानमा मात्रै नेटवर्कमा समस्या होला ।’ बाढीका कारण हालसम्म बिजुली नपुगेका बिटीएस टावरमा बिजुली पुर्याउन अझै केहि समय लाग्ने उनले बताए ।

उनले अन्य स्थानमा भने कहिलेकसो फाइबर काटिने, लाइन नपुग्ने, घाम नलाग्ने हुँदा पनि नेटवर्कमा समस्या आउने गरेको र त्यस्तो समस्याको समाधान पनि क्रमिक रुपमा टेलिकमले गर्दै गएको उनले बताए । तर, हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी जिल्ला, सुदूरपश्चिम प्रदेशमा पनि टेलिकमको नेटवर्कमा समस्या देखिएको सेवाग्राहीहरु बताउँदै आएका छन् ।

नेपाल टेलिकमका हाल देशभर २ करोड ३० लाख बढी सेवाग्राहीहरुले टेलिफोनको भ्वाईस सेवा प्रयोग गर्ने गरेका छन् । अझ कम्पनीको डाटा सेवा प्रयोगकर्ताको संख्या पनि गत असारसम्म २ करोड २७ लाख ३७ हजार छ । पछिल्लो समय नेपाल टेलिकमले फाईबर टु दी होम (एफटीटीएच) सेवा पनि दिँदै आएको छ । फाइबर बाट टेलिफोन, डाटा र भिडियो सेवा दिँदै आएको टेलिकमले यो सेवामा पनि आफ्टर सर्भिस राम्रो नदिँदा सेवाग्राहीहरु आजित छन् । कहिलेकसो त महिनौंसम्म पनि टेलिकमका प्राधिकरणहरु यसको मर्मतमा नआईदिँदा सेवाग्राहीहरु अन्य सेवाप्रदायकको सेवा प्रयोग गर्न बाध्य हुनेगरको प्राधिकरणका एक अधिकारीले बताए ।

‘प्राधिकरणमा आउने नेपाल टेलिकमका गुनासोहरुमध्ये धेरैजसो गुनासो आफ्टर सर्भिस राम्रा नभएको बारेमा आउने गरेका छन्,’ उनले भने, ‘जसमा कहिलेकसो त महिनौंसम्म पनि टेलिकमका प्राविधिकहरु ग्राहककोमा मर्मतका लागि नपुग्दा सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आएको देखिन्छ ।’ टेलिकमले सरकारी सेवा न्यूनस्तरको हुने भाष्य परिवर्तन गर्नका लागि अर्थात सेवाग्राहीलाई समयमै सुविधा दिनका लागि टेलिकमले आउसोर्सिङबाट कामदार खटाएर मर्मतको काम गर्ने गरेको दाबी गर्दै आएको छ । तर, आउटसोर्सिङमार्फत काम गर्ने कामदारहरुले पनि सरकारी काम भन्दै मर्मतमा ढिलाई गरिदिदा सेवाग्राहीलाई विभिन्न क्षति पुग्ने गरेको छ ।

अहिले विश्वमा गुणस्तरीय सेवा दिन नसक्ने तर, पैसा असुल्ने प्रवृत्तिलाई ‘फ्रड टास्क’ अर्थात ठगीधन्दाको रुपमा हेर्ने गरिन्छ । टेलिकमको सेवा, गुणस्तर र उपभोक्ताको गुनासो र समस्या हेर्ने हो यो एकप्रकारको फ्रड टास्क नै भएको एक जानकारले बताए ।

प्रतिक्रिया दिनुहोस्