Logo

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?

दशैंकै समयमा इन्टरनेट सेवाप्रदायकलाई तनाव, के हो विद्युत प्राधिकरणसँगको विवाद ?



काठमाडौं । अहिले चारैतिर दशैंको माहोल शुरु भएको छ । तर, दशैंकै समयमा इन्टरनेट सेवाप्रदायक भने तनावमा परेका छन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले धमाधम आफ्नो पोलहरु हटाउँदा इन्टरनेट सेवाप्रदायकहरु मर्कामा परेका हुन् । करिव ६ महिना अघि नै प्राधिकरणले विभिन्न स्थानमा पोल हटाउने भन्दै इन्टरनेट सेवा प्रदायकलाई पोलमा रहेको फाइबरहरु हटाउन आग्रह गरेको थियो । समयसीमा सकिएपछि प्राधिकरणले धमाधम पोलहरु हटाउन थालेपछि यसको असर इन्टरनेटको फाइबर केबलहरुमा परेको छ ।

हाल काठमाडौंकै धेरैजसो स्थानमा प्राधिकरणले धमाधम पोल हटाउने काम गरिरहेको छ । यसरी पोल हटाउँदा पोलमा टांगिएका अप्टिकल फाइबर, केबललगायत काटिने गरेका छन् । जसको फलस्वरुप चाडपर्वकै समयमा सेवाग्राहीहरुसमेत प्रभावित भएको इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधिर पराजुली बताउँछन् । ‘चाडपर्वको बेला प्राधिकरणले धमाधम तारहरु काटिदिँदा त्यसको मर्मत गर्नका लागि हाम्रा कर्मचारीहरुको अहिले अभाव भएको छ,’ उनले भने, ‘यही बेलामा धमाधम तार काटिदिँदा हाम्रा सेवाग्राहीहरु मर्कामा पर्नुभएको छ ।’ उनले प्राधिकरणले यसरी पोल हटाउँदा र इन्टरनेट फाइबरहरु काट्दा कम्तिमा इन्टरनेट सेवाप्रदायकलाई खबर गर्नुपर्ने भएपनि त्यसो नगरेको उनले बताए । ‘हामीले यो बिषयमा नेपाल दूरसंचार प्राधिकरणलाई पनि जानकारी गराएका छौं,’ उनले भने, ‘यस बिषयमा दूरसंचार प्राधिकरणले पनि केहि सहजीकरण गरिदिने बताएपनि निक्र्याेल ननिस्केको अवस्था छ ।’ उनले चाडबाडकै बेलामा विद्युत प्राधिकरणले तनावमाथि तनाव थपिदिएको बताए ।

यता नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भने इन्टरनेट सेवाप्रदायक कम्पनीहरु जिम्मेवार नहुँदा यो समस्या निम्तिएको बताउँछन् । करिव ६ महिना अघि नै प्राधिकरणले गोर्खापत्रमै सूचना निकालेर पोलमा टाँगिएका तारहरु हटाउन आग्रह गरेको थियो । गत जेठमा ६ महिनाको समयावधि राखेर सार्वजनिक गरिएको सूचना अनुसार प्राधिकरणले काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी भएको जनाएको थियो । ती स्थानमा विद्युतका सबै तार भूमिगत भइसकेपछि प्राधिकरणले आफ्नो मातहतमा रहेका पोलहरु हटाउने बताएको थियो । सूचना जारी भएको लामो समय वितिसक्दा पनि केबल तथा इन्टरनेट सेवाप्रदायकहरुले आफ्ना केबल, फाइबर तथा अन्य उपकरणहरु पोलबाट स्थानान्तरण गर्न वा हटाउन मानिरहेका छैनन् ।

इन्टरनेट सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले विद्युत प्राधिकरणले सूचना निकाल्दैमा फाइबर तथा उपकरणहरु पोलबाट हटाउन असम्भव भएकै कारण हटाउन नसकिएको सेवाप्रदायकहरुले बताउँदै आएका थिए । तर, प्राधिकरणले पनि हाल धमाधम आफ्नो क्षेत्राधिकारभित्र पर्ने पोलहरु भटाभट हटाउँदा समस्या बल्झिएको हो । ‘हामीले सूचना जारी गरेकै हौं, यो समयावधिभित्र उहाँहरुले तार, फाईबरलगायत स्थानान्तरण गर्नुपर्ने थियो,’ प्राधिकरणका प्रवक्ता घोषले भने, ‘तर, उहाँहरुले हटाउनुभएको रहेनछ हामीलाई पनि बेलैमा आफ्नो काम नगरे पछि सडकलगायतको स्वीकृति पाउन हम्मेहम्मे पर्ने हुनाले पोल निकाल्ने काम धमाधम गरिरहेका छौं ।’

उनले तार भूमिगत गर्नका लागि पनि सडक विभाग, खानेपानी, महानगरपालिकालगायतका निकायले बेलाबेलामा स्वीकृति नै नदिने समस्या रहेको बताए । यसबेला सबै निकायले स्वीकृति दिएको मौकामा आफ्नो काम फत्ते गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ । पछि पुनः पोल निकाल्न, स्थानान्तरण गर्नेलगायतका समस्या ननिम्तिउन भन्नकै लागि हाल काम फत्ते गरिरहेको घोष बताउँछन् । हुन त प्राधिकरणले २०७५ सालमा तार भूमिगत सुरु गर्नुपूर्व नै पोलमा टाँगिएका अन्य केवल तथा इन्टरनेट सेवाप्रदायकहरुलाई बोलाएर २ ओटा डक्ट (पाइप)हरु उनिहरुका लागि पनि भूमिगत गरिदिने सल्लाह गरेको थियो । सोहीअनुसार प्राधिकरणले विद्युत तार अन्डरग्राउन्ड गरिरहेको स्थानमा २ ओटा पाइपहरु अन्य सेवाप्रदायकहरुका लागि पनि राखिँदै आएको छ । तर, ती दुई ओटा पाइप हाल उपयोगविहिन छन् ।

प्राधिकरणले अन्डरग्राउन्ड गरिएका पाइपका विषयमा ओनरसिपबारे थप छलफल आवश्यक भएकाले त्यो पाइपमार्फत फाइबर केबलहरु लैजान थप केही छलफल गर्नुपर्ने इन्टरनेट सेवाप्रदायकहरु बताउँछन् । प्राधिकरणबाहेकका अन्य सेवाप्रदायकहरुका लागि दुईओटा पाइप गाडिँदै आएको भएपनि प्राधिकरणले उक्त पाइप कसरी र कुन मोडेलमा प्रयोग गर्ने भनेर कुनै निक्र्याेल नभइसकेकाले अझै प्रयोग गर्न नसकिएको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।

प्राधिकरणले भूमिगत विद्युत प्रणाली योजना पूरा गरिसकेका ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन सूचना जारी गरिसकेको छ हालसम्म काठमाडौंको करिव ९० प्रतिशत स्थानमा विद्युत तार भूमिगत प्रणालीको काम सम्पन्न भइसकेको छ । प्राधिकरणले यसरी तार भूमिगत गरिएको स्थानका घरधुरीसम्म भूमिगत प्रणालीमार्फत नै लाइन जडान गरी विद्युत सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्