Logo

१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?

१२ जिल्लाका ४३ स्थानीय तह विपद संकटग्रस्त घोषित, कुन–कुन परे ?



काठमाडौं । सरकारले १२ जिल्लाका ४३ स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा बाढी पहिरोले बढी प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लाका बाढीपहिरो प्रभावित स्थानीय तह विपद् संकटग्रस्ता क्षेत्र घोषित भएका हुन् । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित ४३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । अब ती क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिइने उनले बताएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काभ्रेको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् । धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् भने दोलखाको गौरीशंकर, बिगु र शैलुङ गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन् ।

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन् । रामेछापको मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका तथा दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई पनि सरकारले संकटग्रस्त घोषणा गरेको छ ।

त्यस्तै सिन्धुलीको गोलञ्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका तथा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित छन् । अब ती क्षेत्रमा आवश्यक स्रोतसाधन केन्द्रित गरेर राहत, पुनःस्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिइने गृहमन्त्री लेखकले जानकारी दिएका छन् ।

गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानको कारण अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ भने १६९ घाइते भएका छन् । १८ जना अझै बेपत्ता रहेका गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोको कारण देशका धेरै सडकमार्ग अहिले पनि अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा चाडपर्वको बेला आवत जावत गर्न नागरिकलाई सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्