Logo

च्याङ्ग्रा व्यापारीको यात्रा : अग्ला भिरपहरा छिचोल्दै रारादेखि फेवा तालसम्म

च्याङ्ग्रा व्यापारीको यात्रा : अग्ला भिरपहरा छिचोल्दै रारादेखि फेवा तालसम्म



काठमाडौं । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँ ठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।

लामाले दसैंमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् । ‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए ।

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ । मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् ।

‘दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउँछन्, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवाउन पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्‍यो ।’

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन् । लामाको व्यवसायिक साझेदार छन् मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए । यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्