Logo

राष्ट्रपति पौडेल निवास, हनुमानढोका दरबारस्थित दसैंघर र गोरखा दरबारमा राखियो जमरा

राष्ट्रपति पौडेल निवास, हनुमानढोका दरबारस्थित दसैंघर र गोरखा दरबारमा राखियो जमरा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् । राष्ट्र कल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ । आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ ।

दसैंघरमा राखियो जमरा

काठमाडौंको हनुमानढोका दरबारस्थित दसैं घरमा जमरा राखिएको छ । बिहीबार घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दसैंघरमा विधिपूर्वक जमरा राखिएको हो ।

दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । दसैंघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एकरएक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ । बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्