Logo

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन, कुन क्षेत्रमो के खटिए ?

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन, कुन क्षेत्रमो के खटिए ?



काठमाडौं । गृह मन्त्रालयले वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक आज बिहानदेखि कार्यक्षेत्रमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव आज खटिएको जानकारी दिए । बाढीपहिरो प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लामा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार गोविन्दप्रसाद रिजाल (काठमाडौँ), प्रकाश पौडेल )ललितपुर), नारायणप्रसाद अर्याल (भक्तपुर), वासुदेव घिमिरे (काभ्रेपालञ्चोक), लालबाबु कवारी (सिन्धुली), रामबन्धु सुवेदी (मकवानपुर), श्याम कृष्ण थापा (सिन्धुपाल्चोक) र रमेश ढकाल (धादिङ)मा खटाइएको छ ।

कार्यदललाई वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएजनाइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इञ्जिनीयर र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ ।

साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ । त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दशजना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी आज नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए ।

‘हामीले दश जना अधिकतलाई बाढीपहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ ।’ उनले भने, ‘उहाँहरुले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्