Logo

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु

दशैंमा इन्टरनेट जोड्न चाहनेलाई छुट र सुविधै-सुविधा, यी हुन् कम्पनीहरुले ल्याएका नयाँ अफरहरु



काठमाडौं । दशैं, तिहार, छठलगायतका पर्वहरुलाई लक्षित गरी नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुले पनि नयाँ अफरहरु सार्वजनिक गरेका छन् । इन्टरनेट सुविधा लिइरहेका र हालसम्म नलिएका ग्राहकहरुलाईसमेत लक्षित गरी यसपटकको चाडपर्वमा इन्टरनेट सेवाप्रदायकहरुले आकर्षक अफरहरु सार्वजनिक गर्ने क्रम जारी छ ।

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असार मसान्तसम्म नेपालमा २८ लाख घरदुरीमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । यो बजारलाई अझै विस्तार गर्नका लागि सेवाप्रदायकले यसपटको चाडपर्वका लागि लक्षित गर्र्दै निम्न अफरहरु सार्वजनिक गरेका छन् ।

वर्ल्डलिंकको ‘फेस्टिभ कार निभल’

हाल इन्टरनेट सेवाप्रदायकमध्ये सबैभन्दा बढी ग्राहक भएको सेवाप्रदाय वर्ल्डलिंक हो । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असारसम्म यसको कनेक्सन संख्या ९ लाख १८ हजार ७ सय ३३ छ । कम्पनीले नेपालमा फिक्स्ड ब्रोडब्याण्ड सेवामा ३२ प्रतिशत हिस्सा ओगटेको छ । यसर्थ यो कम्पनी नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक हो । कम्पनीले यसपालीको दशैँ, तिहार र छठलाई लक्षित गर्दै फेस्टिभ कार निभल अफर सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त अफरअन्तर्गत बम्पर प्राइजको रुपमा ३६ लाख रुपैयाँ पर्ने नामी ०१ इथ्री नामको विद्युतीय गाडी राखेको छ । यस्तै यसै अफर अन्तर्गत कम्पनीले २ सय एमबीपीएस इन्टरनेट ३ महिनाका लागि ३३ सय रुपैयाँमै उपलब्ध गराउने पनि जानकारी दिएको छ । यस्तै कमपनीले इन्टरनेटको प्याकेज खरिदमा बोट कम्पनीका इयरपड, स्पिकर र स्मार्टवाच ५३ प्रतिशत छुट र सामसंगका घरायसी उपकरणहरु ३९ प्रतिशत छुटमा उपलब्ध गराउने बताएको छ ।

‘डिसहोम खुसीको सेलिब्रेसन’

डिसमिडिया प्रालिको डिसहोम फाइबरनेट नेपालमा ग्राहकका हिसावले दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो । प्राधिकरणका अनुसार कम्पनीले हाल नेपालभर ३ लाख १९ हजार ६ सय कनेक्सन विस्तार गरेको छ । यसपल्टको चाडपर्वलाई लक्षित गरी कम्पनीले ‘डिसहोम खुसीको सेलिब्रेसन’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कम्पनीले २ सय र ३ सय एमबीपीएस गतिको इन्टरनेट प्याकेज बार्षिक रुपमा खरिद गर्दा थप ३ महिना बोनस दिने बताएको छ ।

कम्पनीले यससँगै इन्टरनेट प्याकेज खरिद गरेका १२ जनालाई हरेक हप्ता लक्की ड्रमार्फत विभिन्न पुरस्कार पाउने पनि बताएको छ । जसमा हरेक हप्ता ३ जनालाई मिवी ब्राण्डको इयरपड, ४ जनालाई डीएचआइएका घरायसी सामग्री, २ जनालाई आइटेल स्मार्टफोन र ३ जनालार्य फोरकै स्ट्रीमर उपलब्ध गराउने बताएको छ । साथै कम्पनीले बम्पर प्राइजमा एक जनालाई डिएचआइको वासिङ मेसिन पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

नेपाल टेलिकमको ‘बडा दशैंको बडा अफर’

यता फिक्स्ड ब्रोडब्याण्डतर्फ ग्राहकका आधारमा तेस्रो स्थानमा रहेको नेपाल टेलिकमले पनि फाईबर प्रयोगकर्ताका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले असोज १३ देखि कार्तिक २३ गतेसम्म लागू हुनेगरी फाईबर इन्टरनेटमा बडा दशैंको बडा अफर सार्वजनिक गरेको हो । यसअन्तर्गत कम्पनीले नयाँ इन्टरनेट जडान गर्ने ग्राहकका लागि पुरानै मूल्यमा गति थपेर इन्टरनेट दिने बताएको छ । अर्थात हाल ५० एमबीपीएस गतिको इन्टरनेट दशैं अफरमा भने सोही मूल्यमा ७५ एमबीपीएस गतिको पाईने भएको छ ।

यस्तै कम्पनीका अनुसार ७५ एमबीपीएसको मूल्यमा १०० एमबीपीएस, १०० एमबीपीएसको मूल्यमा १२५ एमबीपीएस, १५० एमबीपीएसको मूल्यमा १७५ एमबीपीएस र २ सय एमबीपीएसको मूल्यमा २२५ एमबीपीएस गतिको इन्टरनेट दिईने कम्पनीले जानकारी दिएको छ । यसपल्ट ग्राहकले नयाँ टेलिकमको इन्टरनेट जोड्दा जडान शुल्क तिर्नुपर्ने छैन । कम्पनीले हाल देशभर ३ लाख १३ हजार ५ सय घरधुरीमा आफ्नो कनेक्सन पुर्याएको छ ।

सुबिसुको ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’

नेपालमा २ लाख ५० हजार कनेक्सनसहित चौथो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसुले दशैं, तिहार र छठका लागि भन्दै ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यसपल्टको चाडपर्वका लागि भन्दै फ्रेन्ड्स एण्ड फेमिली उपहार, अर्ली बर्ड्स उपहार र रिभरमा उपहार नै उपहार सार्वजनिक गरेको छ ।

जसअन्तर्गत २ सय एमबीपीएसको पैसामा ३ सय एमबीपीएसको इन्टरनेट जोड्न सकिने सुविधा राखिएको छ । यस्तै सुबिसुको अफर बुक गरेमा पहिलो १ सय जनालाई निशुल्क सरप्राइज गिफ्ट पनि दिने कम्पनीले जानकारी दिएको छ । यससँगै कम्पनीले अब कुनै ग्राहकले सेवा रिफर गरेमा १ महिना निशुल्क बोनस र ब्याण्डविथ बढाउने घोषणा गरेको छ ।

भायानेटको ‘महा महोत्सव’ योजना

२ लाख ७ हजार ग्राहकसहित पाँचौ ठुलो इन्टरनेट सेवाप्रदायक भायानेटले यसपालिको चाडपर्वमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर अन्तर्गत भने २ सय एमबीपीएस गतिको इन्टरनेट अब बार्षिक ८ हजार ९ सय ९९ रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले यति मात्रै नभई नयाँ प्याकेज खरिद गरी इन्टरनेट जडान गर्ने ग्राहकका लागि भन्दौ हाइसेन्सका होम अप्लायन्सहरुमा २८ प्रतिशत छुटको व्यवस्था मिलाएको छ । साथै कम्पनीले नयाँ इन्टरनेट जोडने ग्राहकका लागि एउटा मेसको मूल्य अर्थात ३ हजार रुपैयाँमै २ ओटा मेस उपलब्ध गराउने बताएको छ ।

क्लासिकटेकको ‘आधा तिरे पुग्छ’ अफर

नेपालभर १ लाख ६३ हजार कनेक्सनसहित छैठौ स्थानमा रहेको क्लासिकटेकले भने यसपल्टको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरलाई दुई भागमा विभाजन गरी नयाँ जडान गर्ने ग्राहकका लागि र सेवा नविकरण गर्ने ग्राहकका लागि छुट्टाछुट्टै सुविधा उपलब्ध गराएको छ । जसमा नयाँ ग्राहकका लागि कम्पनीले १ सय ५० एमबीपीएसको इन्टरनेट टिभी अब ६ महिनाका लागि ५ हजार २ सय २१ रुपैयाँ तिरे पूग्ने बताएको छ । यस्तै सोही मूल्यममा २ सय एमबीपीएस गतिको इन्टरनेट टिभी पनि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी प्याकेजहरुमा सेकेन्डरी राउटर निशुल्क पाईनेछ ।

यस्तै सेवा नविकरणमा भने कम्पनीले ५ महिनाभन्दा बढी समयका लागि इन्टरनेट र आइपीटीभीको बोनस उपलब्ध गराउने, नविकरणमा ३० प्रतिशत छुट दिने र ५ गिगाहर्जको राउटर निशुल्क उपलब्ध गराउने बताएको छ । कम्पनीले नविकरण योजनामा पनि २ सय २५ एमबीपीएस गतिको इन्टरनेट र टिभी नविकरण गर्दा बार्षिक १० हजार ७ सय ९३ रुपैयाँ तिरे पूग्ने बताएको छ । सार्थ ३ सय २५ एमबीपीएस गतिको इन्टरनेट र टिभी नविकरणमा ११ हजार ९ सय ९९ रुपैयाँ तिरे पुग्ने बताएको छ । यी दुई प्याकेज नविकरण गराए २० प्रतशितसम्म छुट, ५ गिगाहर्जको राउटर निशुल्क र ३ महिनाको बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।

वेबसर्फरको ‘ह्याप्पी दशैं अफर’

नेपालको सातौ ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फले चालु बर्षको चाडपर्वका लागि भन्दै ह्याप्पी दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ७०, ८०, १००, २०० र ३०० एमबीपीएस गतिका इन्टरनेटमा ठुलो छुट दिनेगरी नयाँ अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत कम्पनीले ७० एमबीपएिस गतिको इन्टरनेट प्रतिमहिना ५ सय ५५ रुपैयाँमै उपलब्ध गराउने अफर ल्याएको छ ।

यस्तै ८० एमबीपीएसलाई ६ सय ६६, १०० एमबीपीएसलाई ७ सय ७७ र २०० एमबीपीएस गतिको इन्टरनेटलाई ८ सय ८८ रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ । यस्तै कम्पनीले ३ सय एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्रतिमहिना ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । यी प्याकेजहरु कसैले १ बर्षकै लागि लिएको खण्डमा कम्पनीले २ हजार रुपैयाँ बराबरको आइपीटिभी सुविधा पनि उपलब्ध गराउने जानकारी दिएको छ । गत असारसम्म कम्पनीले नेपालभर १ लाख ३९ हजार कनेक्सन जोड्न सफल भएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

सिजी नेटको ‘सुरक्षित स्मार्ट दशैं’ योजना

नेपालमा कनेक्सन संख्याका आधारमा नवौं स्थानमा रहेको चौधरी समुहको सिजी नेटले सुरक्षित स्मार्ट दशैं नामक चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजनाअन्तर्गत नयाँ इन्टरनेट जडान गरेवापत ग्राहकलाई स्मार्ट बल्ब र सिसीटीभी क्यामरा उपलब्ध गराउने भएको छ । कम्पनीले दशैंका लागि भन्दै १५०, २५०, ३५० र ६६६ एमबीपीएस गतिका इन्टरनेटहरु क्रमशः १२ हजार ४ सय ९९, १३ हजार ४ सय ९९, १४ हजार ४ सय ९९ र १९ हजार ४ सय ९९ रुपैयाँ विक्री गरिरहेको छ ।

यससँगै ग्राहक संख्याका आधारमा आठौं स्थानमा रहेको टेकमाइन्डले भने चाडपर्वलक्षित कुनै योजना हालसम्म सार्वजनिक गर्न सकेको छैन । बरु ग्राहक संख्याका आधारमा बाह्रौं स्थानमा रहेको वाइफाइ नेपालले दशैं अफरको रुपमा स्कुटर दिने घोषणा गरको छ । यसले खल्तिबाट भुक्तानी गर्दा स्कुटर, स्मार्ट टीभीसहितको आकर्षक उपहार दिने घोषणा वेवसाइटमार्फत जानकारी दिएको छ । यसले २४ महिने प्योकज किन्दा ३१ प्रतिशतसम्मको छुट दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्