Logo

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?

गैर-बासमती चामल निकासीमाथिको प्रतिबन्ध भारतद्धारा फुकुवा, नेपालमा सस्तो होला चामल ?



काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । सन् २०२२ मा विश्वमा निर्यात हुने चामलको ४० प्रतिशत भारतबाट आएको थियो र यसले विश्वका १४० भन्दा बढी देशमा कुल २ करोड २२ लाख मेट्रिक टन चामल निर्यात गरेको थियो । तर २०२३ मा सामान्य कम वर्षापछि आन्तरिक बजारमा चामलको मूल्य नियन्त्रणमा राख्न सरकारले चामल निकासीमा धेरै प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध यस वर्ष भएको आम निर्वाचनको नतिजा नआएसम्म जारी थियो ।

अहिले गैर–बासमती सेतो चामलको मौज्दात बढ्दै गएका र कृषक आगामी साताभित्रै नयाँ बाली काट्ने तयारीमा रहेकाले सरकारले त्यसको निर्यातलाई खुला गरेको छ । भारतबाट ठूलो मात्रामा निकासीले विश्वभर चामलको आपूर्तिमा सुधार ल्याउनुका साथै पाकिस्तान, थाइल्याण्ड र भियतनाम जस्ता अन्य प्रमुख चामल उत्पादकहरूलाई मूल्य घटाउन बाध्य बनाउने व्यापारीहरू बताउँछन् । भारतले गैर–बासमती सेतो चामलको न्यूनतम मूल्य प्रति मेट्रिक टन ४९० डलर तोकेको छ । यसअघि भारत सरकारले सेतो चामलको निर्यात करलाई शून्यमा झारेको थियो ।

व्यापारीहरूलाई गैर–बासमती सेतो चामल बिक्री गर्न अनुमति दिनु भारत सरकारले प्रिमियम, सुगन्धित बासमती र सुगन्धित चामलको निर्यातमा प्रतिबन्धहरू खुकुलो पार्नका लागि चालेका कदमहरूको श्रृंखला हो । शुक्रबार भारतले उसिना चामलको निर्यात शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । युरोप, मध्यपूर्व र अमेरिकाजस्ता आकर्षक बजारमा आफ्नो चामल बेच्न नसकेका हजारौं किसानलाई सहयोग गर्न सरकारले बासमती चामलको निर्यातमा लागु हुने न्यूनतम मूल्य पनि यसै महिना हटाएको छ ।

सन् २०२३ मा चामल निकासीमा प्रतिबन्ध लगाएपछि आन्तरिक आपूर्ति सुदृढ भएको र सरकारी गोदाममा चामलको मौज्दात बढ्न थाल्यो । तथ्यांकले सेप्टेम्बर १ सम्म भारतीय खाद्य निगमका पसलहरूमा ३.२३ करोड मेट्रिक टन चामल उपलब्ध रहेको देखाएको छ, जुन एक वर्षअघिको तुलनामा ३८.६ प्रतिशतले बढी हो । यस्तो अवस्थामा भारत सरकारसँग निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने पर्याप्त आधार छन् । यस वर्ष मनसुन राम्रो भएकाले भारतीय किसानले ४१ करोड ३५ लाख हेक्टर जमिनमा धान रोपेका छन् भने गत वर्ष ४० करोड ४५ लाख हेक्टरमा धान उत्पादन भएको थियो ।

सन् २०२२ मा भारतले निर्यात गरेको चामलको मात्रा तत्कालीन चार ठूला चामल निर्यातकर्ता थाइल्याण्ड, भियतनाम, पाकिस्तान र अमेरिकाको कुल निर्यातभन्दा बढी थियो । भारतका गैर–बासमती चामलको सबैभन्दा ठूलो खरिदकर्तामा बेनिन, बंगलादेश, अंगोला, क्यामरुन, जिबूती, गिनी, आइभरी कोस्ट, केन्या र नेपाल पर्दछन् । जबकि इरान, इराक र साउदी अरेबियाले प्रिमियम बासमती भारतबाट खरिद गर्छन् ।

सन् २०२३ मा चामल निर्यातमा लगाइएको प्रतिबन्धका कारण भारतको निर्यात २० प्रतिशतले घटेको थियो भने २०२४ को पहिलो सात महिनामा निर्यात अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कम थियो । भारतबाट निर्यात घटेपछि एसियाली तथा अफ्रिकी क्रेताले थाइल्याण्ड, भियतनाम, पाकिस्तान र म्यानमारबाट चामल किनेका छन् । मागमा अचानक भएको वृद्धिका कारण यी देशहरूमा निर्यात मूल्य १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

भारतीय चामल व्यापारी राजेश पहाडिया गैर–बासमती चामल निर्यात गर्न दिँदा ग्रामीण किसानको आम्दानीमा बृद्धि हुने र भारतलाई विश्व बजारमा आफ्नो स्थान पुनः प्राप्त गर्न मद्दत गर्ने बताउँछन् । उता, चामल निर्यात संघका अध्यक्ष बीभी कृष्ण रावले पोलेको चामलमा १० प्रतिशत निर्यात कर र न्यूनतम मूल्य प्रति मेट्रिक टन ४९० डलर भएपनि भारतको सेतो चामलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताए ।

नेपालमा चामल सस्तो होला ?

भारतका गैर–बासमती चामलको सबैभन्दा ठूलो खरिदकर्तामा बेनिन, बंगलादेश, अंगोला, क्यामरुन, जिबूती, गिनी, आइभरी कोस्ट, केन्या र नेपाल पर्दछन् । नेपालले आफ्नो सबैभन्दा धेरै चामल आयात भारतबाट नै गर्दै आएको छ । यसैले भारतले प्रतिबन्ध फुकुवा गरेपछि र निर्यात करसमेत घटाएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने एक चामल आयातकर्ताले बताए । तर, नेपालको बजारमा व्यापारीको मनोमानी र सरकारको अनुगमन र कारवाही शून्यको अवस्थामा रहेकाले उपभोक्ताले उचित मूल्यमा चामल पाउनेमा भने विश्वास गर्न नसकिने एक उपभोक्ता अधिकारकर्मीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्