Logo

विपत्तिमा जनतासँगै सरकार ठग्दै वायुसेवा कम्पनी, विज्ञप्तिमा घटाएपनि वास्तविकतामा लिए दोब्बर भाडा

विपत्तिमा जनतासँगै सरकार ठग्दै वायुसेवा कम्पनी, विज्ञप्तिमा घटाएपनि वास्तविकतामा लिए दोब्बर भाडा



काठमाडौं । अविरल बर्षाका कारण देशभरका मुख्य राजमार्गहरु अवरोध हुँदा यसको फाईदा उठाउँदै वायुसेवा कम्पनीहरुले भने जनतासँगै सरकारलाई समेत ठगेका छन् ।

देशभरका प्राय सडकहरु अवरुद्ध हुँदा वायुसेवा कम्पनीहरुले आईतबार साविकको तुलनामा हवाई भाडा दोब्बरले वृद्धि गर्दै टिकट बुकिङ लिईरहेका थिए । तर, त्यसको चौतर्फी विरोध भएपछि आईतबार साँझ मात्रै एक विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा संचालक संघले आगामी बुधबारसम्म अर्थात ३ दिनसम्म साविककै भाडामा हवाई टिकट विक्रि गर्ने झुठो आश्वासन दिलाए ।

वायुसेवा कम्पनीहरुले बुधबारसम्म पुरानै भाडामा टिकट विक्री गरिने घोषणा गरेको समयसम्म उच्च भाडादरमा उनिहरुले बुधबारसम्म नै प्याक हुनेगरी टिकट भने विक्री गरिसकेको पाईएको छ ।

अर्थात बुधबारसम्म नै अकुपेन्सी फूल हुनेगरी साविकको तुलनामा दोब्बर मूल्यमा टिकट विक्री गरिसकेपछि मात्रै उनिहरुले सरकार र जनताको आँखामा छारो हाल्नकै लागि बुधबारसम्म पुरानै मूल्यमा टिकट विक्री गर्ने घोषणा गरेका हुन् ।हाल बुधबारसम्मको हवाई टिकट खोज्दा कुनै कुनै गन्तव्यको मात्रै मुस्किलले टिकट पाईने गरेको छ । अर्थात यस अवधिसम्म सक्दो बढी भाडामा वायुसेवा कम्पनीहरुले बुधबारसम्मै पुग्नेगरी हवाई टिकट विक्री गरिसकेका छन् ।

गत हप्ताको बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल बर्षाले ठुलो धनजनको क्षति पुर्यायो । देशभरका सडकहरु अवरुद्ध भए । श्रमका लागि विदेश जान हिँडेका हरु बीच बाटोमै अलपत्र परे । विशेष कामले राजधानी भित्रिने र राजधानीबाट बाहिर जाने यात्रुहरु पनि गन्तब्यमा पुग्न नपाई पछुताए । तर, सडक अवरुद्ध हुँदा, र लाखौं यात्रुको विचल्ली हुँदा यातायातको एकमात्रै विकल्पका रुपमा रहेको हवाई सेवामा चरम लुट फैलियो । नेपालका हवाई कम्पनीहरुले बाढी र पहिरोको वितण्डालाई फाईदाको हतियार बनाए र हवाई भाडा अमानविय रुपमा दोब्बरभन्दा बढी असुले ।

धेरैजसो यात्रुहरु महत्वपूर्ण कामका लागि राजधानी छोड्नुपर्ने र राजधानी भित्रिनुपर्ने भएपछि बढी मूल्य तिरेरै हवाई यात्रा गर्न बाध्य भए । हवाई टिकट लिनेको भिड लाग्यो । केहिदिनका लागि त टिकट नै नपाईने अवस्था आयो जसको फलस्वरुप यो हप्ताभरीकै लागि सबै बायुसेवा कम्पनीका जहाजमा फूल अकुपेन्सी हुनेगरी टिकट बुक भईसकेको छ । तर, यस्तै बेलामा वायुसेवा कम्पनीहरुले अमानवीय व्यवहार मात्रै देखाएनन् । उनिहरुले सरकारलाई समेत ठगेर बुधबारसम्म अर्थात टिकट बुक भईसकेको समयसम्म नयाँ टिकट विक्री हुँदा पुरानै भाडामा विक्री गर्ने प्रण गरे ।

त्यतिमात्रै होईन उनिहरुले हाल विज्ञप्ति जारी गर्दै सरकारलाई उल्टै फ्युल सरचार्ज घटेको खण्डमा स्वतः हवाई भाडा घट्ने बताउँदै इन्धनको मूल्य घटाउन दवाव दिईरहेका छन् । त्यसमाथि उनिहरुले नागरिक उड्डयन प्राधिकरणले लिँदै आएको पर्किङ, ल्याण्डीङ शुल्क पनि घटाउन माग गरेका छन् ।

एकातिर विपदको बेलामा जनता र सरकार दुबै ठगेका वायुसेवा संचालकहरुले पुनः सरकारसँग नै थप सहुलियत मागेर निर्लज्जपूर्ण व्यवहार देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्