Logo

सडकमा विपतको कष्टलाई एयरलाइन्स कम्पनीले बनाए फाइदा कमाउने अवसर, टिकट मूल्य एकैपटक दोब्बरले बढाए

सडकमा विपतको कष्टलाई एयरलाइन्स कम्पनीले बनाए फाइदा कमाउने अवसर, टिकट मूल्य एकैपटक दोब्बरले बढाए



काठमाडौं । अविरल बर्षाका कारण राष्ट्रिय राजमार्गहरु अवरोध हुँदाको फाईदा हवाई कम्पनीहरुले उठाएका छन् । हवाई यात्रुहरुको चापका कारण आईतबार नै नेपालमा आन्तरिक हवाई सेवा दिईरहेका अधिक कम्पनीहरुले हवाई भाडा दोब्बरभन्दा बढीले बढाएका हुन् । शनिबारसम्म न्युनतम भाडामा गन्तव्यमा यात्रुहरु पुर्याईरहेका हवाई कम्पनीहरुले एक दिनमै दोब्बरभन्दा बढीले भाडा बढाएको पाईएको छ ।

यसअघि काठमाडौंदेखि धनगढीसम्म ७ हजार रुपैयाँमा यात्रु ओसारीरहेका हवाई कम्पनीहरुले अहिले प्रतियात्रु १४ हजार रुपैयाँसम्म लिने गरेका छन् । यस्तै अवस्था अन्य गन्तव्यहरुको पनि छ अर्थात सडकहरुमा आएको अप्ठ्यारोकै बेलामा हवाई कम्पनीहरुले भाडामा लुट मच्चाएको देखिन्छ ।

हाल काठमाडौंबाट बाहिरिने र भित्रिने सबैजसो नाकाहरु बाढी र पहिरोका कारण ठप्प छन् । यसो हुँदा सवारीसाधनहरु चल्न सकेका छैनन् । जसको प्रभाव हवाई टिकटहरुमा पनि देखिन्छ । अहिले हवाई टिकट काट्न लाग्दा पनि करिव ३ दिनसम्मको टिकट नै नभेटिने अवस्था आएको देखिन्छ ।

यसरी राजमार्गहरु संचालन हुन नसकेको अवस्थामा काठमाडौं बाहिर जाने यात्रुहरुको विकल्पको रुपमा रहेको हवाई मार्गमा हवाई कम्पनीहरुले फाईदा लुटिरहेको देख्न सकिन्छ ।

यता हवाई कम्पनीहरु भने हवाई भाडा बढ्नु स्वभाविक भएको बताउँछन् । हाल टिकट विक्री नै चापाचाप हुँदा हवाई यात्रुहरुले माग र आपुर्तिको नियमअनुसार नै भाडा लिईएको एक हवाई कम्पनीका अधिकारीले बताए । उनका अनुसार हवाई भाडादर यसअघि नै सरकारले एक थ्रेसहोल्डसहित तोकिदिएको छ । सोही थ्रेसहोल्डसम्म पुग्न सकिने सुविधा हवाई कम्पनीहरुलाई पनि हुन्छ । सोही अनुसार हवाई कम्पनीहरुले थ्रेसहोल्ड पार नगर्नेगरी माग र आपुर्तिको नियमअनुसार हवाई भाडा केहि बढाएको उनले बताए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको र हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको बताएका छन् ।

हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न उनले अनुरोध गरेका छन् । पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको बताउँदै उनले प्राकृतिक विपत्ति सबै मिलेर सामना गर्नुपर्ने बताए ।

यहि कुरालाई मध्येनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्राकृतिक विपद्का कारण सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडा दरमा सहुलियत दिन सरकारको ध्यानाकर्षण गरेका छन् । अध्यक्ष लिङदेनले भने, ‘प्राकृतिक विपतका कारण अधिकांश स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि समेत सहज बनाउन हवाई भाडा दरमा सहुलियत, नियमितता लगायतमा सरकारको ध्यान पुगोस् ।’

प्रतिक्रिया दिनुहोस्