Logo

दशैंको मुखमा बाढीपहिरोको वितण्डा : सडकको अवस्था भयावह, यात्रुदेखि यातायात व्यवसायीसम्म चिन्तामा

दशैंको मुखमा बाढीपहिरोको वितण्डा : सडकको अवस्था भयावह, यात्रुदेखि यातायात व्यवसायीसम्म चिन्तामा



काठमाडौं । यातायात व्यवसायीका लागि सबैभन्दा बढी कमाउने अवसरका रुपमा रहेको दशैंको मुखमा बाढीपहिरोको वितण्डाले यातायात व्यवसायी चिन्तामा परेका छन् । गत बिहिबार रातिदेखि परेको अविरल बर्षाले नेपालका अधिकांश सडकहरु अवरुद्ध हुँदा यात्रुदेखि यातायात व्यवसायी चिन्तित भएका हुन् ।

लगातार ३ दिनसम्म परेको बर्षाले मुख्य राजमार्गहरुमा ठुलै क्षति पुर्यायो । कतिपय राजमार्गहरु त १ महिनासम्म पनि बनिसक्ने छाँटकाँट देखिँदैन । तर, यसैबीचमा सरकारको निर्देशन र यातायात व्यवसायीको छलफलपछि शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको छ जुन यातायात व्यवसायीहरुलाई नै चिन्ताको विषय सावित भएको छ ।

अघिल्लो हप्ता यातायात व्यवसायी र सरकारी निकायका पदाधिकारीहरुबीचको छलफलले असोज १२ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो । तर, अग्रिम बुकिङ खुलेकै दिन देशभर नै अविरल बर्षा भईरहेको थियो । यस्तो बेलामा दशैंमा आफ्नो गन्तब्य जाने यात्रु र टिकट काटिरहेका व्यवसायीहरु पनि सशंकित थिए ।

देशभरका राजमार्गहरु अवरुद्ध भइरहेको बेलामा अग्रिम टिकट बुकिङ खोल्दा उचित हुने वा नहुने भन्ने बिषयमा टिकट काउन्टरमै पनि बहस भएको थियो । तर, शनिबार विहानैदेखि बर्षाको प्रवाह नै नगरी टिकट काट्न लाइन लागेका सेवाग्राहीहरुलाई बाध्यताबस व्यवसायीले टिकट वितरण गरे । अग्रिम टिकट वितरण गरिएपनि व्यवसायीहरु अझै सशंकित र चिन्तामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।

यातायात व्यवसायीले पहिल्यैदेखि सरकारसमक्ष दशैंमा सडकहरुको स्तरोन्नति हुनुपर्ने, प्राकृतिक प्रकोपका कारण धनजनको क्षति हुने भएकाले राहत र उद्धारका लागि चनाखो हुनुपर्नेलगायतका मागहरु राख्दै आएका थिए । तर, त्यसको सुनुवाई नगरिकनै लगातार अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गर्न हतारिँदा हाल व्यवसायी र यात्रु दुबैलाई अग्रिम टिकट बुकिङ के गर्ने भन्ने भएको देखिन्छ ।

शनिबारदेखि खुलेको अग्रिम टिकट बुकिङमा पनि यसपल्ट अघिल्लो दशैंको जत्तिको यात्रुहरुको भीड नभएको सिटौला बताउँछन् । ‘अविरल बर्षाले निम्तिएको वितण्डाले सबैलाई सशंकित तुल्याएको छ,’ उनले भने, ‘यसैका कारण यसपल्ट अग्रिम टिकट लिने यात्रुहरुको भीड पनि उल्लेख्य छैन ।’ अहिले अग्रिम टिकट बाँडेर गन्तव्यमा जानेबेलामा अहिलेकै अवस्था निम्तिए त्यसको असर झन ठुलो हुने निश्चित छ ।

निश्चित समयमा बस काठमाडौंबाट बाहिरिने र सोहीअनुसार भित्रिने अनुमान गरि टाइम टेबल बनाएर काटिएका टिकटहरुे बाटो अवरुद्ध भएकै कारण गन्तव्यमा पुग्न नसकेको अवस्थामा यसको प्रभाव अर्को ट्रिपमा जाने यात्रुमा समेत पर्नेछ । यस्तो अवस्थामा जिम्मेवारी व्यवासायी हुने भएपनि सरकारले समन्वय गरिदिनुपर्ने सिटौला बताउँछन् । ‘हामीले सरकारको दवावका बीच अग्रिम टिकट बुकिङ त खुलायौं, तर पछि यस्तै विपद आई यात्रुहरु प्रभावित हुनुपरे त्यसको जिम्मेवारी सरकारले पनि लिनुपर्छ,’ उनले भने, ‘यस्ता बिषयमा हामीलाई एकपटक सरकारले पनि बोलाएर अग्रिम टिकट बुकिङ हाललाई के गर्ने, पछि विपद आइपरे के गर्ने बिषयमा छलफल गर्नुपर्ने हो ।’

उनले अग्रिम टिकट विक्रीतर्फ भन्दा पनि नागरिकहरुको ज्यान जोगाउनतर्फ बढी ध्यान हुनुपर्ने भन्दै अग्रिम टिकटलाई यथावत राख्न सकिने बताए । हाल अग्रिम टिकट बुकिङकै कुरा गर्दा काठमाडौंबाट पूर्वतर्फ जाने काठमाडों सिन्धुलीको बाटो पूर्णरुपमा क्षतविक्षत भएको छ । बीपी राजमार्गको करिव ३ किलोमिटर खण्ड नै क्षतविक्षत भएपछि यो बाटो दशैंअघि बनिसक्ने सम्भावना देखिँदैछ । तसर्थ पूर्वतर्फ जाने यात्रुहरु भने चपेटामा पर्ने निश्चित छ ।

काठमाडौंबाट बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्गका पनि प्रायः स्थानहरुमा पहिरोले क्षति पुर्याएको छ । दशैंकै बेलामा सडकहरु पहिरोले क्षतविक्षत भएपछि अग्रिम टिकट बुकिङका लागि यात्रुहरु पनि न्युन देखिएका छन् । यसअघि यसपालीको दशैंमा काठमाडौंबाट १८ लाख नागरिक बाहिरिने अनुमान गरिएपनि बर्षाले पुर्याएको क्षतिले अब दशैंमा घर फर्किने योजना बनाइरहेका कतिपय मानिसहरु काठमाडौंमै रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्