काठमाडौं। पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा रहेका छन्।
दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो । पहिरो गएको स्थानदेखि केही टाढा डेरामा बस्ने उनीहरु साथीको घरमा सुत्न गएका थिए । पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको छ । सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो । दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
त्यस्तैगरी, धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उनकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ्ग रहेका छन् । बिहान करीब साढे तीन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए।