Logo

नेपाल हस्पिटालिटी कन्क्लेभ सुरु, नेपालको आतिथ्यता प्रवर्द्धन

नेपाल हस्पिटालिटी कन्क्लेभ सुरु, नेपालको आतिथ्यता प्रवर्द्धन



काठमाडौं । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय होटलको नेतृत्ववर्ग, सेवा प्रदायकलगायत यस क्षेत्रसँग सम्बन्धित करिब दुई सयभन्दा बढी सरोकार भएकाको सहभागिता रहेको सङ्घले जनाएको छ ।

कन्क्लेभको उद्घाटन गर्दै होटल सङ्घका अध्यक्ष विनायक शाहले आतिथ्यता क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारको आदानप्रदानका लागि यो कार्यक्रमले साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले होटललगायत पर्यटकीय पूर्वाधारको उपयोग गरेर व्यावसायिक लाभ लिनसक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलको वर्तमान अवस्था, समस्या तथा चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, सूचना प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारीलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

होटल सङ्घ नेपालसँगको सहकार्यमा विनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त आयोजना भएको नेपाल हस्पिटालिटी कन्क्लेभले होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उद्योगको बारेमा बुझाइ र भोगाइसँगै आगामी दिनमा अगाडि बढ्ने रणनीति बनाउने विश्वास लिइएको छ । सम्मेलनबाट उठेका विषयवस्तु श्वेतपत्र बनाइ सरकारी तथा सम्बन्धित निकायमा बुझाइने होटल सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्