Logo

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?



काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुमा प्रयोगकर्ताले तीव्र गतिको इन्टरनेट उपयोग गरिरहेका छन् । विकसित राष्ट्रहरु पाँचौ पुस्ताको फाइभ–जी उपयोगसँग सिक्स जीको परीक्षणमा लागिसकेका छन् । यता नेपालमा भने विस २०७३ सालमा पहिलोपटक संचालनमा ल्याइएको फोरजी सेवासमेत नेपाली प्रयोगकर्ताको पहुँचमा पुग्न सकेको छैन् ।

हाल देशभर पुगिसकेको सम्बन्धित दूरसंचार सेवाप्रदायकले घोषणा गरिसकेको भएपनि अझै थ्रिजी चलाउने सेवाग्राहीको संख्या भने घट्न नसकेको देखिन्छ । अर्थात हालसम्म थ्रिजीको पहुँचमा भएका सेवाग्राहीसम्म फोरजीको पहुँच पुग्न नसकेको यसले देखाएको छ ।

खासगरी नेपालका मूख्य दूरसंचार सेवाप्रदायकहरु नेपाल टेलिकम र एनसेलले देशभर नै फोरजी सेवा विस्तार गरिसकेको घोषणा दुई बर्षअघि नै गरिसकेका छन् । तर, सेवाप्रदायकहरुले नामको मात्रैको फोरजी विस्तार गर्दा सेवाग्राहीले गुणस्तरीय सेवा नपाएको नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको तथ्यांकले देखाउँछ । सेवाप्रदायकले ७७ जिल्लामै फोरजी सेवा पुर्याएको घोषणा गरेपनि दूरदराजका धेरैजसो स्थानमा अझै यसको पहुँच नपुगेको प्राधिकरणका एक अधिकारी बताउँछन् । लगातारको ताकेता र निर्देशनका बावजुद पनि सेवाप्रदायक कम्पनीहरुले भनेका स्थानसम्म अझैसम्म फोरजी विस्तार गर्न नसकेको उनको आरोप छ ।

विस २०७८ सालमा इन्टरनेट क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा संचालनमा आएसँग थ्रिजी सेवाका प्रयोगकर्ता लगातार घटिरहेका थिए । नयाँ गतिसहित गुणस्तरीय इन्टरनेट पाइने भएपछि न्यून गतिको थ्रिजी सेवा छाडेर फोरजीमा सिफ्ट हुने क्रम लगातार बढिरहेको भएपनि पछिल्लो बर्ष भने यो रोकिएको देखिन्छ । २०७५ सालसम्म लगातार उकालो लागिरहेका थ्रिजी प्रयोगकर्ता त्यसयता भने निरन्तर ओरालो लाग्ने क्रममा थिए ।

थ्रिजी प्रयोगकर्ता स्थिर, फोरजीमा केही सुधार

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत असार मसान्तसम्मको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार १ बर्षमा थ्रिजीका सेवाग्राही २ लाख १३ हजार जनाले मात्रै घटेका छन् । अघिल्लो बर्ष यहि अवधिमा थ्रिजीका प्रयोगकर्ता २८ लाख बढीले घटेका थिए । गत बर्ष असार मसान्तसम्म ७७ लाख ३२ हजार जना रहेका थ्रिजी प्रयोगकर्ता चालु वर्षको असार मसान्तसम्म आइपुग्दा केहि मात्रै घटेर ७५ लाखमा झरेका हुन् । यो तथ्यांकले एक बर्षको अवधिमा थ्रिजीका बहुल सेवाग्राहीहरुले अझै यसको प्रयोग गरिरहेको देखाउँछ । अर्थात नेपालभर फोरजी दुई बर्षअघि नै विस्तार भइसकेपनि ७५ लाख सेवाग्राही यसको पहुँचबाट विमुख छन् ।

यस अवधिमा नेपाल टेलिकमको थ्रिजी सेवा प्रयोग गर्ने सेवाग्राही २ लाख ५३ हजारले घटेका छन् भने एनसेलका थ्रिजी ग्राहक भने ४० हजारले थपिएका छन् । अर्थात यसअघि गत बर्षको असारसम्म एनसेलको फोरजी प्रयोगकर्ता यसपल्ट पुनः थ्रिजीमै फर्किएको पनि यो तथ्यांकले देखाएको छ । हाल नेपालमा संचालित दूरसंचार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलका थ्रिजी प्रयोगकर्ता क्रमशः १ लाख ६८ हजार र १ लाख ८३ हजार जना छन् ।

फोरजीमा जोडिने न्यून

नेपालमा फोरजीको विस्तार भएसँगै थ्रिजीको आकर्षण लगातार घटेर फोरजीमा ग्राहकहरु सिफ्ट हुने अनुमान नियामक निकायदेखि सेवाप्रदायकहरुले यसअघि गरेका थिए । तर, सेवाप्रदायकले गरेको नाममात्रैको फोरजी विस्तार र गुणस्तरीय सेवाको कमीका कारण पछिल्लो बर्ष भने न थ्रिजीका ग्राहक उल्लेख्य घटेको देखिन्छ न फोरजीका ग्राहक नै बढेको देखिन्छ ।

गत बर्षको असारदेखि चालु बर्षको असार मसान्तसम्मको तथ्यांकलाई नियाल्दा एक बर्षको अवधिमा फोरजी सेवामा करिव २१ लाख जना फोरजी ग्राहक थपिएका छन् । यसअघि अघिल्लो बर्ष नेपालमा फोरजी सेवामा जोडिनेको संख्या ८६ लाख बढी थियो । नेपाल दूरसंचार प्राधिकरणको एमआइएस प्रतिवेदन अनुसार गत बर्षको असार मसान्तमा नेपालमा फोरजी सेवाका प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार जना थिए । तर, एक बर्षको अवधिमा फोरजीका सेवाग्राही झण्डै २१ लाखले थपिँदा हाल यो संख्या बढेर २ करोड २२ लाख नाघेको छ ।

यस अवधिमा नेपाल टेलिकमले २२ लाख ६६ हजारले फोरजी प्रयोगकर्ता बढाएर १ करोड ५२ लाख पुर्याएको छ । यसै अवधिमा अर्काे सेवाप्रदायक एनसेलले भने फोरजीका प्रयोगकर्ता १ लाख ६७ हजारले घटाउँदै ६९ लाख ५० हजारमा सीमित पुर्याएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार चालु बर्षको असार मसान्तसम्म नेपालमा तारसहितको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटले कुल इन्टरनेटको ८ प्रतिशत हिस्सा खोगटेको छ भने बाँकी ९१ प्रतिशत इन्टरनेटको हिस्सा मोबाईल ब्रोडब्याण्डले ओगटिरहेको देखिन्छ । तर, यसरी मोबाईल ब्रोडब्याण्ड दिने सेवाप्रदायकहरुले सेवाको गुणस्तरलाई ध्यानमा नराख्दा सेवाग्राहीहरु लगातार मर्कामा पर्नेगरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । ‘हामीले लगातार गरिरहेको ताकेता र निर्देशनहरुको पालना गरिरहेको देखिँदैन,’ उनले भने, ‘पछिल्लो समय सेवाग्राहीका गुनासाहरु गुणस्तरीय सेवा पाईएन भन्नेतर्फ केन्द्रित हुँदै गएका छन् ।’

प्रतिक्रिया दिनुहोस्