Logo

हेड एण्ड सोल्जरको ब्रेक डाउनपछि २४४४ को टेको लाएर फर्कियो नेप्से, बाउन्स ब्याक भएकै हो त ?

हेड एण्ड सोल्जरको ब्रेक डाउनपछि २४४४ को टेको लाएर फर्कियो नेप्से, बाउन्स ब्याक भएकै हो त ?



काठमाडौं । हेड एण्ड सोल्जरलाई ब्रेक डाउन गर्दै ओरालो यात्रा तय गरेको नेप्से २४४४ अंकको टेको लगायर बाउन्स व्याक भएको छ । पछिल्लो समय अगष्ट १५ मा ३००४ अंकलाई हेड बनाएर नेप्सेले ओरालो यात्रा तय गरेको थियो । तर, त्यसयता ओरालो लाग्दा यसअघि अर्थात अगष्ट ५ को २७८६ अंकको सोल्जरलाई ब्रेक डाउन गर्दै सेप्टेम्बर ३ मा समान रेखामा २८८६ अंकको सोल्जर पोइण्टबाट ब्रेक डाउन भएको थियो ।

त्यसयता करिव १४ प्रतिशतले घटेको बजार बुधबार २४४३.९८को टेको लिएर पुनः बाउन्स ब्याक भएको छ । करिव २ महिनाको अवधिमा ९ सय अंकले बढेर ३ हजार विन्दुमा पुगेको नेप्सेले छोटो समयमै उच्च अंकले घट्दै २६९८ अंकमा झरेर ‘नेक’ को सेप दिएको थियो । त्यसपश्चात सेप्टेम्बर ३ मै बढेर २८२६ अंकको सोल्जर तय गरेको नेप्सेले त्यसबाट ब्रेक डाउन हुँदै २४४४ अंकमा झर्न पुगेको थियो ।

प्राविधिक विश्लेषकहरुले पनि नेप्सेले हेड एण्ड सोल्जर ब्रेक गरेर ओरालो यात्रा तय गरेमा २४५० को विन्दुमा टेको लगाएर फर्किने प्रक्षेपण गरेका थिए । सोही अनुरुप पछिल्लो समय परिसुचकमा कारोबार रकममा उच्च गिरावट आएको नेप्से बुधबार सोही विन्दुलाई टेको लगाएर पुनः २५ सय अंकमाथि पुगेको छ ।

बुधबार अन्तिम समयमा ४९ अंकले बढेको बजारमा ४ अर्ब ८१ करोडको मात्रै कारोबार भएको छ । २४५० को टेको लगाएर नेप्से बाउन्स व्याक हुने अनुमान गरिरहँदा बजारमा खरिद चाप देखिएको थियो भने बिक्री चापमा सुस्तता आएको देखिन्छ । नेप्से परिसुचक ३ हजार अंक टेकेर २४५० अंकमा झर्दा कतिपय कम्पनीका लगानीकर्ताले ५० प्रतिशतभन्दा बढी सम्पति गुमाइसकेका छन् । साथै धेरैजसो कम्पनीको सेयर मूल्यमा २५ प्रतिशतभन्दा बढीले गिरावट आएको देखिन्छ ।

हाल नेप्से उच्च अंकले झरेको र २४४४ को टेको लगाएर नेप्सले बाउन्स ब्याक लिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘यसअघिको लगातारको उच्च वृद्धि र ब्रोकरले दिएको उधारो हिसाब सेटलमेन्टले गर्दा नेप्से परिसुचक सोहीअनुरुप घट्न पुगेको थियो,’ एक लगानीकर्ताले भने, ‘अहिले धेरैजसो ब्रोकरले अहिले राफसाफ गरिसकेको र नेप्से परिसुचक पनि हेड एण्ड सोल्जर ब्रेक गरेर समेत करिव १४ प्रतिशतले घटिसकेकाले अब यहिँ अर्थात २४४४ अंकलाई टेको लगाएर फर्किएको अनुमान गर्न सकिन्छ ।’

बुधबार बाउन्स ब्याक भएको बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । तर कुनै पनि कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढीले घटेको भने छैन । तर कुनै समय दैनिक करिव ३० अर्ब रुपैयाँको कारोबार भएको सेयर बजारमा पछिल्लो समय लगातार घटदै ५ अर्ब भन्दा कममा सीमित हुन थालेपछि त्यसले भने सकारात्मक सन्देश नदिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अब नेप्सेले २४४४ अंकको टेको लिएर बाउन्स ब्याक हुनका लागि कारोबार रकमले समेत साथ दिनुपर्ने लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्