Logo

सुनको मूल्य बढ्दा व्यापारी र उपभोक्ता निराश, लगातार मूल्य वृद्धिको रेकर्डले किनवेचमा उच्च गिरावट

सुनको मूल्य बढ्दा व्यापारी र उपभोक्ता निराश, लगातार मूल्य वृद्धिको रेकर्डले किनवेचमा उच्च गिरावट



काठमाडौं । अहिले विश्वबजारमा सुनको मूल्यले हरेकदिन नयाँ रेकर्ड बनाउँदै आएको छ । विश्वबजारमा सुनको मूल्य आँकडा बनाउने गोल्डप्राइस डट कमका अनुसार बुधबार मात्रै पनि सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ६ सय ६० डलरको आसपासमा छ । यो मुल्य १ महिनाअघिको तुलनामा ५ प्रतिशतले, ६ महिनाको तुलनामा २२ प्रतिशतले र १ बर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।

अर्थात पछिल्ला बर्ष तथा महिनाहरुमा यसको मूल्य लगातार उकालो लागिरहेकै छ । पछिल्लो समय विश्वबजारमा निम्तिएका घटनाक्रमका कारण लगानीकर्ताहरुले सुरक्षीत लगानीको रुपमा सुनलाई अपनाएपछि यसको माग उच्चतम बढेको र मूल्य पनि सोहीअनुसार रकेट हाई हुँदै आएको अर्थविद्हरु बताउँछन् ।

यस्तै अमेरिकी फेडरल रिजर्भ बैंकले गत हप्ता आफ्नो बेन्चमार्क ब्याजदर आधा प्रतिशत बिन्दुले घटाएपछि सुनको मूल्यमा लगातार उछाल आईरहेको छ । विश्वबजारमा देखिएको प्रभाव भनौँ नेपालमा पनि हाल सुनको मूल्य लगातार उकालो लाग्दो क्रममा छ र यसले हरेकदिनजसो नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

यतिमात्रै होईन हाल विश्वका केहि देशहरुबीच भईरहेको युद्ध र फेडरल रिजर्भ बैंकको नीतिका कारण अझै केहि समय सुनको मूल्य लगातार उकालो लागिरहने विज्ञहरु बताउँछन् ।

यता नेपालमा पनि सुनको मूल्य पछिल्लो ६ महिनामा मात्रै प्रतितोला ३३ हजार ९ सय रुपैयाँले बढिसकेको छ । यसअघि गत चैतको अन्त्यसम्म १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य असोज ९ अर्थात आजसम्म आईपुग्दा १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज कायम भएको सुनको मूल्य नेपाली बजारमा १ महिनाअघिको तुलनामा ८ हजार रुपैयाँले बढी हो । यसअघि भदौ ९ गतेसम्म १ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भईरहेको थियो ।

पछिल्लो समय बढिरहेको सुनको मूल्यले नेपाली व्यवसायीमाथि पनि केहि चिन्ता थपिदिएको नेपालका व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बढेको मूल्यले बजारमा सुनको मागमा निरन्तर गिरावट आईरहेको बताए । ‘अघिल्ला बर्षहरुमा दशैं, तिहार, तिजलगायतका चाडपर्वहरुमा दैनिकजसो ३५ देखि ४० किलो आसपासमा सुनको विक्री हुने गरेको थियो,’ उनले भने, ‘यसपल्ट यसको विक्री आधाभन्दा बढीले घटेको छ ।’

उनले नेपालमा सबैभन्दा बढी सुन विक्री हुने तिहारको धनतेरसमा समेत सुनको विक्री उल्लेख्य नहुने आँकलन गरेका छन् । ‘यसपल्ट व्यवसायीमात्रै नभई उपभोक्ताहरुलाई पनि मूल्य उच्च भएकै कारण नयाँ सुन जोड्न नसकिने चिन्ता छ,’ उनले भने, ‘चाडपर्व अझ दशैं तिहारमा सबैको नयाँ सम्पत्ति जोड्ने योजना हुन्छ, तर यसपल्ट उपभोक्ताहरु पनि चिन्तामा हुनुहुन्छ ।’
विश्वबजारमा देखिएको प्रभावका कारण नेपालमा पनि पनि अझै लगातार सुनको मूल्य उकालो लाग्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्