Logo

दुई महिनामा १६ सय बढी इभी आयात, भदौमा १२ सय बढी भित्रिदा सवा दुई अर्ब बढी राजस्व संकलन

दुई महिनामा १६ सय बढी इभी आयात, भदौमा १२ सय बढी भित्रिदा सवा दुई अर्ब बढी राजस्व संकलन



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा मात्रै नेपालमा १६ सय बढी विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा मात्रै ५० किलोवाटदेखि ३ सय किलोवाट माथि क्षमता भएका १ हजार ६ सय २ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका हुन् ।

यस अवधिमा आयातित विद्युतीय सवारीसाधन खरिदमा नेपालबाट ३ अर्ब ८२ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १ सय किलोवाटसम्म क्षमता भएका विद्युतीय कारहरु आयात भएको देखिन्छ । साउन र भदौको महिनामा यो क्षमताको वर्गमा पर्ने २ अर्ब ४३ करोड २१ लाख रुपैयाँ मूल्य का ९ सय ३८ विद्युतीय कार नेपाल भित्रिएका हुन् ।

यस्तै यसै अवधिमा नेपालमा ५० किलोवाटसम्म क्षमता भएका १ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरका ५ सय ६० थान विद्युतीय कारहरु भित्रिएका छन् । साथै यस अवधिमा २०१ देखि ३ सय किलोवाटसम्म क्षमता भएका १ करोड ८४ लाख रुपैयाँ बराबरका ३ थान, १०१ देखि २ सय किलोवाट क्षमताको ३२ करोड २३ लाख रुपैयाँ बराबरका ९९ थान र ३ सय किलोवाट माथि क्षमता भएको २ थान विद्युतीय कार नेपाल भित्रिएको देखिन्छ । साउन र भदौमा नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमार्फत नेपालले २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भदौमै भित्रिए धेरै कार

चालु आर्थिक बर्षको भदौमा मात्रै १२ सय बढी विद्युतीय कारहरु नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आवको भदौमा ५० किलोवाटदेखि ३ सय किलोवाट माथि क्षमता भएका १ हजार २ सय २१ विद्युतीय सवारीसाधनहरु भित्रिएका हुन् ।

जसमध्ये भदौमा ५० किलोवाट क्षमताका ३ सय ९९, ५१ किलोवाट देखि १०० किलोवाट क्षमताका ७ सय २२ र १ सय १ देखि २ सय किलोवाटसम्म क्षमताका ९८ विद्युतीय कार नेपाल भित्रिएका हुन् । भदौमै २०१ देखि ३ सय र ३ सय किलोवाट माथि क्षमता भएका १–१ विद्युतीय कारहरु नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।

यसअघि साउनमा ५१ किलोवाटदेखि १ सय किलोवाटसम्म क्षमता भएका २ सय १६ थान विद्युतीय कार नेपाल भित्रिएका थिए । यस्तै साउनमै नेपालमा १ सय ६१ थान विद्युतीय कारहरु ५० किलोवाटसम्म क्षमता भएका, २०१ देखि ३ सय किलोवाटसम्म क्षमता भएका २ थान, १०१ देखि २ सय किलोवाट क्षमताको १ थान र ३ सय किलोवाट माथि क्षमता भएको १ थान विद्युतीय कार नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्