Logo

नेपाल भ्रमणपछि आइएमएफको सुझाव : १० ठूला वाणिज्य बैंकको सम्पत्ति मूल्यांकन र सहकारी समस्या समाधान गर्नुपर्छ

नेपाल भ्रमणपछि आइएमएफको सुझाव : १० ठूला वाणिज्य बैंकको सम्पत्ति मूल्यांकन र सहकारी समस्या समाधान गर्नुपर्छ



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को टोलीले नेपाल भ्रमण सम्पन्न गरेको छ । सो टोलीले नेपालको भ्रमण सम्पन्न गरेसँगै नेपालको अर्थतन्त्रका लागि विभिन्न सुझाव समेत दिदएको छ । भ्रमणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटमा नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको आइएमएफ टोलीले बताएको थियो ।

यसैबीच नेपाल भ्रमण सम्पन्न गरेर फर्किएसँगै आइएमएफले नेपालका १० ठूला वाणिज्य बैंकहरुको सम्पतिको मूल्यांकन तत्काल गर्नुपर्ने सुझाव दिएको छ । आइएमएफले बचत तथा ऋण सहकारी संस्थाहरुका कमजोरीहरुलाई सम्बोधन गर्नु प्राथमिकतामा दिनुपर्ने पनि उल्लेख गरेको छ ।

आइएमएफले जारी गरेको विज्ञप्तिमा बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको जनाइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनमा भएको हालैको संशोधनलाई स्वागत गरेको भने नेपाल राष्ट्रबैंक ऐनमा संशोधन तथा राष्ट्र बैंकको बाह्य लेखापरीक्षणलाई उसले प्राथमिकतामा राख्न भनेको छ ।

लगानी सहजीकरण ऐनले नेपालमा लगानीको वातावरणमा सुधार ल्याउने अपेक्षा उसले गरेको छ । आईएमएफसँग गरेका सुधारका लागि नेपालका निकायहरुको प्रयासलाई आईएमएफले स्वागत गरेको छ । त्यस्तै, दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई बनाउनका लागि सुधारलाई प्राथामिकतामा राख्नु पर्ने आइएमएफको सुझाव छ ।

यही सेप्टेम्बर ११ देखि २२ सम्म नेपाल भ्रमण गरेको आइएमएफको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र सरकारका अन्य वरिष्ठ पदाधिकारीसँग भेटघाट गरेको थियो । यस्तै टोलीले केन्द्रीय बैंकका अधिकारीहरू, निजी क्षेत्र र विकास साझेदारहरूका प्रतिनिधिहरूसँग पनि भेट गरेको थियो । आईएमएफको एसिया र प्रशान्त विभागका उपनिर्देशक सुश्री दत्तगुप्ताले बैठकहरूमा भाग लिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्