Logo

मोबाइलमै लाइसेन्स देखाउँदा ट्राफिकले मान्ने प्रक्रिया कहाँ पुग्यो ? के भन्छ ट्राफिक प्रहरी ?

मोबाइलमै लाइसेन्स देखाउँदा ट्राफिकले मान्ने प्रक्रिया कहाँ पुग्यो ? के भन्छ ट्राफिक प्रहरी ?



काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मोबाइलमै देखाउँदा ट्राफिकले स्वीकार गर्नेसम्बन्धी कार्यान्वयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । खासगरी पछिल्लो समय प्रधानमन्त्री कार्यालयले नै भर्चुअल लाइसेन्सलाई मान्यता दिनेगरी विभिन्न चरणका छलफल तथा गोष्ठीहरुसँगै यसको कार्यान्वयनमा विशेष जोड दिएपछि मोबाइलमै देखाइएको लाइसेन्स ट्राफिकले स्वीकार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

लामो समयदेखि लाखौं सवारीचालकहरुलाई स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकेको यातायात व्यवस्था विभागलाई भर्चुअल लाइसेन्सको वैधता कार्यान्वयनमा आएसँगै हाइसन्चो हुने भएको छ । विभागका अधिकारीहरुको भनाईलाई आधार मान्दा हालसम्म करिव १७ लाख सेवाग्राहीहरु सवारी लाइसेन्सको ट्रायल पास गरेर लाइसेन्सको पर्खाइमा छन् । उनीहरु यातायात कार्यालयले दिएको चिर्कटोको भरमा सडकमा सवारी चलाईरहेका छन् । तर, यस्तै बेला लाइसेन्स छपाईका लागि आवश्यक प्रिन्टर विग्रने, स्मार्ट कार्डले काम नगर्नेलगायतका समस्या आउँदा यो संख्या बढ्दै गएको थियो ।

विभागले विभिन्न विदेशी कम्पनीहरुबाट कार्डहरु आपुर्ति गर्ने र छापेर देशभरका यातायात कार्यालयहरुमा पठाउने गरेको छ । तर, भनेको समयमा कार्ड आपुर्ति नहुने, छपाईन गर्ने प्रिन्टर विग्रने, वितरणमा झमेला हुने तथा समयमै छपाई गर्नै समस्या हुने भएपछि दैनिकजसो लाइसेन्स पर्खने सेवाग्राहीको संख्या बढिरहेको छ । यहि समस्याहरुलाई मध्येनजर गर्दै प्रधानमन्त्री कार्यालयले नै सहजीकरण गरेर भर्चुअल लाइसेन्सको अवधारणा अघि बढाएको प्रधानमन्त्री कार्यालयका एक सूचना तथा संचार विज्ञले बताए । उनका अनुसार सेवाग्राही र ट्राफिक प्रहरीलाई पनि सहज हुनेगरी सरकारी एप नागरिक एपमै भएको लाइसेन्स देखाएर काम चल्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

‘हामीले लाइसेन्सलाई सिधै राष्ट्रिय परिचयपत्रसँग इन्टिग्रेट गरेर सबै प्रकारका सेवामा राष्ट्रिय परिचयपत्र मात्रै भए पुग्नेगरी काम थालिसकेका छौं,’ उनले भने, ‘त्यो नहुन्जेलसम्मका लागि नागरिक एपमा इन्टिग्रेट भएको लाइसेन्सलाई नै ट्राफिकले मान्ने गरी काम अघि बढेको हो ।’उनले यस्तो भएको खण्डमा भौतिक लाइसेन्सको आवश्यक नपर्ने र मोबाइलमै भएको लाइसेन्स देखाएर ट्राफिकले मान्ने बताए ।

यता यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु पछिल्लो १ महिनादेखि लाइसेन्स छाप्ने प्रक्रिया रोकिएको बताउँछन् । विभागमा रहेको लाइसेन्स छाप्ने ठूलो आकारको (मास) प्रिन्टर नै विग्रिएपछि गत महिनादेखि नै यो रोकिएको छ । यसबीचमा मात्रै करिव १ लाख जना सेवाग्राही लाइसेन्स लिने लाइनमा थपिसकेका छन् । यहि झन्झट अन्त्य गर्न प्रदेशअन्तर्गतका यातायात कार्यालयहरुसँग छलफल गरी भर्चुअल लाइसेन्स नै मान्य हुने नीति बनाउन आग्रह गरिएको उनको भनाई छ ।

यता बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अब सडकमा गुड्ने सवारीसाधन चालकको लाइसेन्स अनलाइनबाटै मान्य हुने जानकारी दिएको छ । ‘हामीकहाँ लाइसेन्स छपाई गरेर वितरण गर्न झन्भटीलो भएपछि बागमति प्रदेश सरकारले यसलाई अन्तिम रुप दिन लागिसकेको छ,’ मन्त्रालयले जानकारी दियो, ‘यसैका लागि भन्दै सडकमा उभिने ट्राफिकलाई लाइसेन्स जाँच गर्ने मेशिन उपलब्ध गराउन उक्त मेशिन आपुर्तिका लागि बोलपत्रसमेत निकालिसकेको छ ।’ पहिलो चरणमा बागमती प्रदेशले ट्राफिक प्रहरीलाई वितरण गर्नका लागि ५ सय थान डिभाईस खरिद गर्न लागेको हो ।

यता ट्राफिक प्रहरी भने मोबाइलमा लाइसेन्स देखाएर मान्ने प्रक्रिया हाल छलफलकै चरणमा रहेको बताउँछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले हाल नागरिक एपमा भएको लाइसेन्स देखाएर चिट काट्ने प्रक्रियाको बारेमा छलफल जारी रहेको बताए । उनले हाल विभिन्न चरणमा प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्राफिक प्रहरीबीच छलफल भएको र व्यवस्थाको निष्कर्शमा पुग्न बाँकी नै रहेको जानकारी दिए । ‘हामीले विभिन्न चरणका छलफलहरु चलाइरहेका छौं,’ उनले भने, ‘मोबाईलमा भएको लाइसेन्स जाँच गर्ने, त्यहि अनुसार चिट काट्ने, यसमा देखिने सुरक्षाका ईस्युलगायत हाम्रो सूचना प्रविधि विभागले हेरिरहेको छ ।’ ट्राफिक प्रहरीका सूचना प्रविधि विज्ञहरुले सबै कुराको निक्र्याेल गरिसकेपछि मात्रै सडकमा उभिएका ट्राफिक प्रहरीले मोबाईलमा भएको लाईसेन्सलाई मान्यता दिएर चिट काट्ने प्रक्रिया सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्