Logo

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा

श्रीलंकाको राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमसिंघे तेस्रो स्थानमा



काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजिताअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् ।

त्यस्तै, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो । त्यसपछि रनिल विक्रमसिंघे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए ।

शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । सुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ ।

गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ । श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्