Logo

आर्थिक गतिविधि फस्टाउँदा प्रत्यक्ष कर बढ्यो, पुँजीगत खर्च पनि दोब्बर

आर्थिक गतिविधि फस्टाउँदा प्रत्यक्ष कर बढ्यो, पुँजीगत खर्च पनि दोब्बर



काठमाडौं । देशमा आर्थिक गतिविधिमा सुधार आउँदा अर्थतन्त्र चलायमान बन्न पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पनि राजस्व संकलन तथा परिचालनमा उच्च सुधार देखिएको छ ।

नेपाली कांग्रेसको समर्थन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुई तिहाईको सरकारले देशमा स्थायित्व ल्याउनुका साथै निजी क्षेत्र उत्साहित भएको सम्बद्ध निजी क्षेत्रले बताउँदै आएका छन् । सोहीअनुरुप चालू आर्थिक वर्षको दुई महिनामा राजस्व संकलनमा उच्च सुधार आउनुका साथै पुँजीगत खर्च परिचालनसमेत झण्डै दोब्बरले बढ्न पुगेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले १ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ कर राजस्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ अर्ब रुपैयाँले बढी हो । यसैगरी सरकार पुँजीगत खर्च परिचालनमा पनि एग्रेशिभ देखिएको छ । सरकारले गत आर्थिक वर्षको दुई महिनामा ८ अर्ब ३५ करोड रुपैयाँ मात्र खर्च गरेकोमा नयाँ गठबन्धन सरकारले चालू आवको सोही अवधिमा झण्डै दोब्बर अर्थात १५ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ । साथै चालू आबमा गत आवको तुलनमा समग्र राजस्व संकलन तथा खर्चमा समेत सुधार आएको छ ।

देशमा कांग्रेस–एमाले गठबन्धनको दुई तिहाईको सरकार बनेसँगै देशमा लगानीको वातावरण बनेको भन्दै निजी क्षेत्र उत्साहित भएका थिए । सोहीअनुरुप नेपाल राष्ट्र बैंकले पनि बजेट कार्यान्वयन र निजी क्षेत्रलाई सहज हुनेगरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिदियो । जसका कारण लामो समयदेखि समस्यामा परेको निर्माण कम्पनीहरुको समस्या सम्बोधन भयो भने सेयर बजारमा समेत सकारात्मक प्रभाव पर्न गयो । मौद्रिक नीतिमा भएको व्यवस्थाका कारण अहिले बैंकहरुले सेयर धितो कर्जामा उच्च कर्जा प्रवाह गरेका छन् भने नेपाली सेयर बजारमा दैनिक करिव ३० अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुन पुग्यो ।

यसैगरी गत हप्तामात्रै सरकारले देशभर जग्गाको कित्ताकाट खुला गरिदियो । यसले पनि लामो समयदेखि मारमा परेका घरजग्गा व्यवसायीलाई ठूलो राहत पुगेको सम्बद्ध व्यवसायीहरु नै बताउँछन् । पछिल्लो समय सरकारले आफ्ना नीतिहरुलाई समयसापेक्ष खुकुलो र व्यवसायीमैत्री बनाउँदै लगेको र कांग्रेस एमाले दुई तिहाई गठबन्धन सरकार बनेका कारण उद्योगी व्यवसायी उत्साहित हुँदा अर्थतन्त्र चलायमान बन्न पुगेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय देशमा लगानीको वातावरण बन्नुका साथै निजी क्षेत्र समेत उत्साहित भएको निजी क्षेत्रमा नेताहरुले बताउँदै आएका छन् । साथै अहिले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानी आकर्षित गर्ने खालका नीति नियम ल्याउन सरकारलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL