Logo

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा रकम भित्र्याउन जीवी राई एकल जिम्मेवार



काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली (फेक) आधारमा चलिरहेको छानविनको निष्कर्ष सुनाएका छन् । शेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘नक्कली’ रहेको उनले बताएका छन् । ‘सभामुख महोदय सहकारी क्षेत्रमा अंशवण्डा फेक छन्, विवाह फेक छन्, सम्बन्धविच्छेद फेक छन्, पुनः विवाह फरक छन्’, प्रतिवेदन बुझाउँदै उनले भने, ‘साधारणसभा फेक छन्, सबैभन्दा डरलाग्दो कुरा ऋणी र लेखापरीक्षण प्रतिवेदन समेत फेक छन् ।’

त्यही कारण सरकारले अवलम्बन गरेको अर्थतन्त्रका तीन पिलरमध्ये सहकारी ढल्न लागेको उनले बताए । ‘तीनवटा पिलरमध्ये सहकारी क्षेत्र सबैभन्दा कमजोर बाँसको पिलरका रूपमा रहेको छ । निजी क्षेत्र फलामको पिलर, सार्वजनिक क्षेत्र काठको पिलर र सहकारी क्षेत्र बाँसको कमजोर पिलर भएको छ’, थापाले थपे, ‘जताको पिलर कमजोर हुन्छ भार त्यतै जाने हुँदा थप कमजोर हुने समस्या छ ।’ उनले सहकारीको स्वनियमको मान्यतामा पुनर्विचार गरी नियमनतर्फ जानु आवश्यक देखिएको सुझाव पेस गरे ।

४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर
सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुङ्गो लगाएको छ । प्रतिवेदनमा देशभरका ४० सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिएका छन् । समितिले साढे तीन महिना लगाएर अध्ययन–अनुसन्धान गरेको हो । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे पनि विस्तृत अध्ययन समितिले गरेको छ । सहकारीबाट गोर्खा मिडियामा ६७ करोड रूपैयाँ भित्रिएको थियो । उक्त रकम भित्र्याउन जीवी राईलाई एकल जिम्मेवार ठहर्‍याइएको छ । सभापति थापाले तथ्यको माध्यमबाट सत्य खोज्ने प्रयास गरिएको बताएका छन् । समितिले ५६ वटा बैठक गरेको पनि थापाले जानकारी दिए ।

उनले विभिन्न क्षेत्रका चार सय ५१ जना व्यक्तिसँग जानकारी र सुझावमूलक अन्तरक्रिया पनि गरेको जानकारी गराए । समितिले १४ वटा बैठकमा सहकारी बचत रकमको अपचलन र दुरूपयोगमा आरोपित ४७ जना सहकारी संचालकहरू, गोर्खा मिडिया प्रालिका सञ्चालक तथा कर्मचारीसमेत तीन जनासहित ५५ जनासँग सोधपुछ समेत गरिएको उनको भनाइ छ । समितिले कार्यादेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा संस्थाहरूको वित्तीय विश्लेषण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL