Logo

नाडा अटो शोमा बुकिङ गरेका इभी गाडीको रद्द गर्ने क्रम बढ्दो, आधा दर्जन कम्पनीले एकै व्यक्तिलाई गर्छन दैनिक दर्जनौ फोन

नाडा अटो शोमा बुकिङ गरेका इभी गाडीको रद्द गर्ने क्रम बढ्दो, आधा दर्जन कम्पनीले एकै व्यक्तिलाई गर्छन दैनिक दर्जनौ फोन



काठमाडौं । नाडा अटो शोको १६ औं संस्करणमा उल्लेखनीय मात्रामा इलेक्ट्रिक (इभी) गाडी खरिदका लागि बुकिङ भएपनि अहिले खरिदकर्ता भेटिन छाडेका छन् । दुई हप्ताअघि सम्पन्न नाडा अटो सोमा दर्जनौं इलेक्ट्रिक गाडी विक्रेताले आफुले विक्री गर्ने ब्राण्डका गाडी एक सयदेखि १ हजारभन्दा बुकिङ भएको दावी गरेका थिए । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको शोमा ४ हजार बढी गाडी बुकिङ भएको दाबी गरिएको थियो ।

तर, ज्यादै न्यून मूल्यमै बुकिङ गर्न पाइने र कतिपय आयातकर्ताले गाडी बुकिङ गरेको पैसासमेत पछि गाडी खरिद नगरेको अवस्थामा फिर्ता पाइने भएकै कारण धेरैजसोले एकभन्दा बढी गाडी बुकिङ गरेका थिए । एकै व्यक्तिले ५ वटासम्म गाडी बुकिङ गरेको र नेपालमा भित्रिएका धेरैजसो गाडीहरुको गुणस्तरसम्बन्धी कुनै पनि प्रमाणपत्र तथा चेकजाँच नभएको पाइएपछि अहिले रद्द गर्ने क्रम बढेको हो । ‘अहिले एउटै व्यवसायिक घरनाले आधा दर्जनभन्दा बढी ब्राण्डका चिनियाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा भित्र्याएका छन्,’ एक उपभोक्ताले भने, ‘तर, ती गाडीहरु नेपालबाहेक अन्य मुलुकमा संचालनमा छैनन् । साथै केही गाडीहरु सिंगापुर, बंगलादेश लगायतमा मुलुक धेरै बिक्री भएको भननिएपनि नेपाली आयातकर्ताले नै ती मुलुकहरुमा कम्पनी खडा गरेर वेवसाईटमा तथ्यांक देखाएर बिक्री भएको दावी गरेका छन् ।’

नाडा अटो शोमा भ्रमणको क्रममा चिनियाँ राजदूतले समेत अहिले नेपाली बजारमा भित्रिएका चिनियाँ गाडीको जिम्मा आयातकर्ता डिलरहरुले नै लिनुपर्ने बताएका थिए । अहिले नेपालमा दर्जनौं ब्राण्डका चिनियाँ गाडी भित्रिरहेको अवस्थामा ती सबै ब्राण्डको गुणस्तरका विषयमा चीनले जिम्मा लिन नसक्ने उनको तर्क थियो ।

पछिल्लो समय नेपाली व्यवसायिक घरानाहरुले चिनियाँ स्थानीय कम्पनीसँग मिलेर आफुखुशी ब्राण्ड राखेर १÷२ सयको संख्यामा गाडी बनाएर ल्याउने गरेको समेत सम्बद्ध व्यवसायीहरु नै बताउँछन् । ‘चीनको एउटै व्यक्ति लगानीकर्ता रहेको कम्पनीले फरक फरक ब्राण्डमा सामान उत्पादन गरेर नेपालका फरक फरक व्यापारीलाई डिलर दिएर प्रतिस्पर्धा गराउँछ,’ ती व्यापारीले भने, ‘अहिले चिनियाँ लगानीकर्ताले धेरैवटा कम्पनीका गाडीहरु नेपालका एउटै व्यवसायिक घरनालाई बिक्री गर्नका लागि डिलरसिप दिए भनेर पत्याउनु नै हाम्रो मुर्खता हो ।’ नेपालमा ट्रायलको रुपमा बिक्री गर्न नेपालका एउटै व्यवसायिक घरनाले विभिन्न नाममा गाडी बनाएर भित्र्याएका कारण नेपालमा धेरै ब्राण्डका गाडीहरु भित्रिएको समेत ती व्यवसायीले जानकारी दिए ।

पछिल्लो समय कम गुणस्तरका चिनियाँ इलेक्ट्रिक गाडीहरु नेपालमा मात्रै भित्रिएको र कपितय गाडी नाडा अटो शोमा मात्रै भित्रिएका कारणले तत्कालीन समयमा बुकिङ गरेपनि अहिले रद्द गर्ने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘नेपालमा भित्रिएका इलेक्ट्रिक गाडी मध्ये टेस्ला र विवाईडीका उत्पादनहरुले विश्व बजारमा बलियो रुपमा आफ्नो उपस्थिति जनाईरहेका छन्,’ गाडीसम्बन्धी एक जानकारले भने, ‘ती बाहेक नेपाली बजारमा भित्रिएका कुनै पनि चिनियाँ ब्राण्डका इलेक्ट्रिक गाडीहरु नेपालबाहेक अन्य मुलुकमा पाउन मुशिकल छ ।’ साथै कतिपय कम्पनीहरुले नेपालबाहेक अन्य मुलुकमा पनि बिक्री भैरहेको जानकारी दिएपनि नेपालमा गाडी भित्र्याउने र अन्य मुलुक बिक्री गर्ने व्यक्ति एउटै रहेको उनले जानकारी दिए ।

नाडा अटो शोमा विभिन्न ब्रााण्डका ४ हजार बढी गाडी बुकिङ भएको दावी गरिएपनि एउटै व्यक्तिले ५ वटासम्म बुकिङ गरेका थिए । बुकिङ मात्रै गर्दा किन्नैपर्छ भन्ने नरहेको र बुक गर्दा दिइएको धरौटी रकमसमेत फिर्ता गर्ने सर्तमा गाडी बुकिङ गरिएको थियो । नाडा अटो शोमा अवलोकन गर्ने क्रममा ती व्यक्तिले वीवाईडीको अटो थ्री, सी १०, डिप्पल, स्काईवेल र नामी गरी ५ वटा गाडी बुक गरेको बताएका थिए । तर, अहिले गाडी खरिदका लागि सबै कम्पनीबाट दैनिकजो १ देखि २ पटकसम्म फोन आउने गरेको उनले जानकारी दिए । अटो शोमा कम्पनीहरुले आकर्षक अफर राखेका कारणले गर्दा पनि अवलोकनकर्ताले विना धरौटीमै गाडी बुक गराएका थिए ।

नाडा अवधिभर एमएडब्लुले मात्रै विभिन्न ब्राण्डका १ हजार बढी गाडीहरु बुक भएको घोषणा गरेको थियो भने स्काइवेलले १ सय २६, बीवाइडीले साढे ७ सय बढी, टाटाले साढे ६ सय र अन्यले पनि सोहीअनुसार बुकिङ भएको जानकारी दिएका थिए । तर, अटो शोमा एउटै व्यक्तिले धेरैवटा ब्राण्डको गाडी बुकिङ गरेको र अहिले तिनै ब्राण्डका डिलरहरुले गाडी खरिदका लागि ताकेता गरेर तनाव दिने गरेको समेत सम्बद्ध अवलोकनकर्ताहरु बताउँछन् ।

कतिपय कम्पनीका गाडीहरु नाडा अटो शोमा मात्रै आइपुगेका थिए भने गाडी खरिदकर्ताले सो विषयमा विस्तृत जानकारी राख्न समेत पाएका थिएनन् । तर, गाडी बुकिङ गरेर पछि विस्तृत अध्ययन गर्दा धेरैजसो गाडीहरु नेपालमात्रै उपलब्ध भएको र ती गाडीको गुणस्तरसम्बन्धी कुनै मापदण्डसमेत नभएकाले अहिले बुकिङ रद्द गर्ने क्रम बढेको सम्बद्ध बुकिङकर्ताहरु नै बताउँछन् । साथै धेरैजसो चिनियाँ इभी गाडीहरु नेपालमा व्यापारीहरुले ट्रायलका लागि मात्रै भित्र्याएको र उनीहरुको स्पेयर पार्ट र सर्भिस सेन्टर समेत नभएकाले त्यस्ता गाडी खरिद गर्दा फस्ने सम्भावना उच्च रहेका कारणले अहिले बुकिङ रद्द गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL