Logo

आयात ६९ प्रतिशतले बढ्दा निर्यात १२ प्रतिशतमा सिमित, व्यापार घाटा २ खर्ब पुग्यो

आयात ६९ प्रतिशतले बढ्दा निर्यात १२ प्रतिशतमा सिमित, व्यापार घाटा २ खर्ब पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा व्यापार घाटा उच्च रुपमा बढेको छ । सो अवधिमा व्यापार घाटा ७७ दशमलव ५ प्रतिशतले बढ्दै २ अर्ब १ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२ दशमलव ८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा कुल वस्तु आयात ६९ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३१ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ७९ प्रतिशत, चीनबाट भएको आयात ५८ दशमलव ८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४९ दशमलव ९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ, कृषिजन्य उपकरण लगायतका वस्तुको आयात बढेको छ । तर, सो अवधिमा चाँदी, कोल्डरोल सिट ईन क्वाइल, सुन लगायतका वस्तुहरुको आयात समीक्षा अवधिमा घटेको छ ।

प्रथम ३ महिनामा कुल वस्तु निर्यात १२ दशमलव ६ प्रतिशतले मात्र बृद्धि भएको छ । ३ महिनामा कुल १८ अर्ब ९३ करोड रुपैयाँको बस्तु निर्यात भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २५ दशमलव ४ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा भारततर्फ १९ दशमलव ९ प्रतिशत, चीनतर्फ २९ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव ९ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, जुटका सामान, रोजिन, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ । तर जिङ्क सिट, तयारी पोशाक, अलैची, तरकारी लगायतका वस्तुहरुको निर्यात भने घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार कार्यालय नाकाहरुबाट निर्यातमा कमी आएको छ । तर अन्य भन्सार नाकाहरूबाट भने वृद्धि भएको देखिन्छ । त्यसैगरी, आयाततर्फ कैलाली भन्सार कार्यालय र बिराटनगर भन्सार नाकाबाट केही कमि आएको छ भने अन्य सवै नाकामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्