Logo

दशैंको अग्रिम टिकट बुकिङमा यातायात व्यवसायीका संस्थाबीच मतभेद : एउटाले सुरु गर्याे, अर्काे सरकारी निर्णय कुर्दै

दशैंको अग्रिम टिकट बुकिङमा यातायात व्यवसायीका संस्थाबीच मतभेद : एउटाले सुरु गर्याे, अर्काे सरकारी निर्णय कुर्दै



काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंंलाई यातायात व्यवसायीहरुले पनि आफ्नो दशैंका रुपमा व्याख्या गर्ने गर्छन । दशैंको टीकाका लागि हुने ओहोरदोहोर र चलायमान बजारका कारण यातायात व्यवसायीका लागि यो सबैभन्दा व्यस्त रहने समय हो । विशेषगरि संघीय राजधानी काठमाडौंबाट दशैंको समयमा बाहिरिने यात्रुको चाप अत्यधिक रहने भएकाले सरकारले यात्रुलाई सहज होस भने हरेक वर्ष दशैंका लागि अग्रिम बसको टिकट खुला गर्ने परम्परा नै बनेको छ ।

यातायात व्यवसायीले यही अवसरलाई कमाउधन्दा बनाउने भएकाले दशैंको अग्रिम टिकट बुकिङको विषय सधैं पेचिलो बन्ने गरेको छ । यातायात व्यवसायीको मौका छोप्ने प्रवृत्तिका कारण यसपटक पनि सर्वसाधारणले दुख पाउने र सरकार मुकदर्शक बनिरहने पुरानै प्रवृत्ति दोहोरिने देखिएको छ । यसअघिका बर्ष दशैंमा काठमाडौं छोडेर आफ्नो गन्तब्यमा जाने यात्रुका लागि १ महिना अगावै सुरु गरिने अग्रिम टिकट बुकिङ यो बर्ष पनि केहि व्यवसायीहरुले सुरु गरिसकेका छन् भने केहीले भने बखेडा झिकेर बसिरहेका छन् ।

सधैजसो यातायात व्यवसायीहरुले सरकारसँग विभिन्न मागहरु राख्दै उक्त मागहरु पूरा भएको खण्डमा मात्रै दशैंको अग्रिम टिकट बुकिङ खोल्ने गरेका छन् । तर, यसपल्ट भने यातायात क्षेत्रकै दुई संस्थाले फरक–फरक तरिकाले अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरिसकेका छन् ।

यी संस्थाहरुमध्ये सार्वजनिक यातायात व्यवसायी केन्द्रिय महासंघमा आवद्ध केहि यातायात कम्पनीहरुले भने यै हप्ताको सुरुवातदेखि नै दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ खोलिसकेको बताएका छन् । महासंघका महासचिव भरत नेपालका अनुसार उनको कम्पनी अरनिको यातायात, पृथ्वी यातायात र अन्य केहि कम्पनीहरुले हालसम्म दशैंकको अग्रिम टिकट बुकिङ खोलिसकेका छन् । बाँकी रहेका अन्य कम्पनीहरुले पनि असोज ३ गतेसम्ममा अग्रिम टिकट बुकिङ खोलिसक्ने उनले बताए ।

महासंघमा हाल २ सय ८२ कम्पनी आवद्ध छन् । काठमाडौं भित्र र लामो रुटमासमेत चल्ने गरी महासंघमा आवद्ध कम्पनीहरुका करिव १२ देखि १५ हजार ओटा गाडीहरु छन् । यी गाडीहरु नेपालभर पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म नै चल्ने गरेका महासचिव नेपाल बताउँछन् । ‘हामीसँग खासगरी काठमाडौं उपत्यकामा चल्ने गाडीहरु र बाँकी केहि नेपालका सबै जिल्लासम्म पुग्ने बसहरु छन्,’ उनले भने, ‘हामी अग्रिम टिकट बुकिङ खुलाउनका लागि सरकारको मुख नताकी आफै स्वनिर्णय गरेर असोज ३ सम्ममा सबै कम्पनीका गाडीको अग्रिम टिकट बुकिङ खुलाउनेछौं ।’

यद्यपि काठमाडौंको केन्द्रिय बसपार्क ‘गोंगबु’बाट भने अझै अग्रिम टिकट बुकिङ नखुलिसकेको उनले बताए । गोंगबुबाट अग्रिम टिकट बुकिङ खुलाउनका लागि सरकारले नै निर्णय गरिदिनुपर्छ र सोहीअनुसार बुकिङ खुल्ने उनको भनाई छ । तर, कम्पनीमा गइसकेका यातायात व्यवसायीहरु उद्योगी पनि भएकाले सरकारको मात्रै मुख नताकी आफै स्वनिर्णय गरेर अग्रिम टिकट खुलाउन सकिने भएकाले महासंघसम्वद्ध कम्पनीहरुले अग्रिम टिकट बुकिङ खुलाएको उनले बताए । महासंघसम्वद्ध गाडीको अग्रिम टिकट लिनका लागि महासंघ अन्तर्गतका गाडीहरुको बसपार्क, काउन्टरलगायतमा सम्पर्क गर्न सकिने उनले बताए ।

यसपल्ट केन्द्रिय महासंघले गन्तव्यमा पुग्ने यात्रुका लागि बाटोको समस्या भएकाले तत्काल त्यसको समाधानमा लाग्नुपर्ने र विनाकारण लामो रुटमा धेरै स्थानमा चेकिङ हुने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने माग भने राखिएको उनले बताए । ‘काठमाडौंबाट पश्चिमतर्फ गएका गाडीहरुको मुग्लिनमा मात्रै चेक गरे पुग्छ हरेक स्थानमा चेकिङ गरिरहनुपर्दैन,’ उनले भने, ‘यसरी धेरै स्थानमा चेकिङ हुँदा एक त जाम बढ्छ भने यात्रुलाई सास्तीसँगै सवारीलाई समयमै गन्तब्यमा पुग्न समस्या हुने देखिन्छ ।’ उनले यसपल्ट दशैंमा गाडी कम भएकै कारण समस्या भने नहुने बताए । यसपल्ट केन्द्रिय महासंघमा आवद्ध कम्पनीहरुले मात्रै दशैंका लागि भन्दै २ देखि ३ सय गाडीहरु थप गरेको पनि उनले बताए ।

यता अर्काे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसपल्टको अग्रिम टिकट बुकिङको निर्णय अझै भइनसकेको बताएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हालसम्म आफुहरुलाई सम्बद्ध निकायहरुले यसको छलफलका लागि नबोलाएको बताएका छन् । ‘हामी पनि सरकारले बोलाउनेछ भन्दै पर्खाइमा छौं,’ उनले भने, ‘अब सरकारले छलफलमा बोलाएपछि मात्रै हाम्रा पनि केहि कुराहरु राख्नेछौं, त्यसपछि अग्रिम टिकट बुकिङको छलफल हुनेछ ।’

उनले यसपल्ट सडकको दूरावस्थाका कारण यात्रुहरुले सास्ती भोग्नुपर्ने निश्चित भएकाले सरकारले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । ‘यसपल्ट सडकको दूरावस्थाका कारण यात्रुहरुले दुख पाउने निश्चित छ,’ उनले भने, ‘त्यसैले यसपल्ट सरकारले अग्रिम टिकट बुकिङ खुलाउनुपूर्व सडक सुरक्षाको प्रतिवद्धता दिनुपर्छ ।’ हरेक बर्षजसा दशैं मनाउनकै लागि नेपालभरका १० देखि १५ लाख यात्रुहरु काठमाडौंबाट बाहिरिने गर्दछन् । यसपल्ट पनि सोही मात्रामा यात्रुहरु बाहिरिने अनुमान गरिएपनि सडकले समस्या दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL