Logo

नयाँ सरकारपछिको सेयर बजार : राज्यलाई साढे ८ अर्ब राजस्व, ब्रोकरलाई २ अर्ब ६२ करोड कमिशन, लगानीकर्ताको बिचल्ली

नयाँ सरकारपछिको सेयर बजार : राज्यलाई साढे ८ अर्ब राजस्व, ब्रोकरलाई २ अर्ब ६२ करोड कमिशन, लगानीकर्ताको बिचल्ली



काठमाडौं । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नयाँ गठबन्धनमा सरकार बन्ने हल्ला चलेसँगै उकालो यात्रा तय गरेको नेप्से परिसुचक २ महिनाको अवधिमै ३ हजारको यात्रा तय गरेको थियो । लामो समय वियरिस ट्रेण्डमा रुमलिएको नेपाली सेयर बजार अर्थमन्त्रीमा पुनः विष्णुप्रसाद पौडेले आउने हल्लाले लगातार बढ्न पुग्यो । सोहीअनुरुप अर्थमन्त्रीमा पौडेल पदबहाली हुने दिनसम्ममा २०५४ अंकबाट बढेर २२५७.५९ अंक पुग्यो ।

तर, अर्थमन्त्रीमा पौडले पदबहाली भएको दिन सामान्य करेक्सन अर्थात १७ अंकले घटेर लगातार उकालो यात्रा तय गरेको नेप्से २२ कार्य दिनमा ३ हजार अंक पुग्यो । तर त्यसयता ओरालो यात्रामा लागेको नेप्से १६ कार्यदिनमा ३ सय ५८ अंकले घटेर २६१० अंकमा झरेको छ । परिसुचकसँगै कारोबार रकममा समेत उच्च अंकले बढेको सेयर बजार पछिल्लो समय दुबै इण्डिकेटरमा सुस्तता आएको छ । साथै लामो समयपछि पछिल्लो ५ कार्यदिनमा लगातार नेप्से परिसुचक घट्न पुगेको छ ।

पछिल्लो ३८ कार्यदिनमा नेप्से परिसुचक करिव ८ सय अंकले बढेर साढे ३ सय अंकले घट्दा लगानीकर्ताको सम्पत्ति भने पुरानै मूल्यमा झरेको छ । अर्थात धेरैजसो लगानीकर्ताले गुमाउन पुगेका छन् । पछिल्लो उच्चतम विन्दु ३ हजार अंक पुगेको दिनमा पुगेर सेयर खरिद गरेका लगानीकर्ताले उक्त मूल्यमा २० प्रतिशतभन्दा बढी गुमाउन पुगिसकेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल पदबहाली भएको भोलीपल्टबाट बजार प्रवेश गरेका लगानीकर्ताको सेयर मूल्य ८ सय अंकले बढेर साढे ३ सय अंकले बढ्दा पुरानै मूल्य झरेको छ । अझ कतिपय सेयर मूल्य भने २२ सय अंककोभन्दा पनि कम मूल्यमा झरिसकेको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय बजार बढदा भने सरकारले ठूलो मात्रामा राजस्व संकलन गरेको छ भने ब्रोकरहरुले पनि सोहीअनुरुप कमिशन संकलन गरेका छन् । बजार २२ सय अंकबाट बढेर ३ हजार अंक पुग्दा बढेको मूल्यमा लगानीकर्ताले ठूलो मात्रामा पुँजीगत लाभकर तिरेका छन् । यस्तै कारोबारको आधारमा नेपाल स्टक एक्स्चेञ्ज, धितोपत्र बोर्ड र ब्रोकरलाई कमिशन तिर्नुपर्ने भएकाले लगानीकर्ताले सोवापत पनि अर्बौ रुपैयाँ बुझाएका छन् । बढेर सेयर बिक्रीगर्दा पुँजीगत लाभकरवापतको रकम तिर्नुपर्ने तर, त्यही सेयर घाटामा बिक्री गर्दा हिसाव मिलान गर्न नपाइने भएकाले पछिल्लो ८ सय अंकको उचारचढावमा लगानीकर्ताले कमाएको रकम पुँजीगत लाभकर र ब्रोकर ममिशन तिर्नमै सिमिति भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नयाँ सरकार गठनसँगै सेयर बजार उच्च अंकले बढेर लगानीकर्ताले कमाएको भनिएपनि त्यसको लाभ भने सरकार र ब्रोकरले मात्रै लिएका छन् । सिडीएससी एण्ड क्लियरिङको तथ्यांकलाई आधार मान्दा पछिल्लो ६० कार्यदिनमा ८ अर्ब ५५ करोड रुपैयाँ राजस्व सेयर कारोबारबाट उठाएको छ । जसमा पुँजीगत लाभ कर, नेप्से कमिशन, सेबोन कमिशन र रेगुलेटरी कमिशन रहेको छ । यसैगरी सो अवधिमा ब्रोकरले पनि २ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम कमिशन वापत कमाएका छन् ।

पछिल्लो समय सेयर बजार बढेर लगानीकर्ताले नाफा आर्जन गरेको भनिएपनि उक्त रकम हरेक पटकको कारोबारमा लाग्ने डिपी चार्ज, ब्रोकर कमिशन, नेप्से कमिशन र सेबोन कमिशनमा खर्च हुँदै आएको सम्बद्ध लगानीर्ताहरु बताउँछन् । ‘लगानीकर्ताले नाफा हुँदा पुँजीगत लाभकर वापत राजस्व तिर्छन तर, घाटामा बिक्री गर्दा त्यसलाई हिसावमा मिलान गर्न पाउँदैनन्,’ ती लगानीकर्ताले भने, ‘धेरैजसो लगानीकर्ताले घाटामा सेयर कारोबार गरिरहेका हुँदा त्यस्ता लगानीकर्ताले ब्रोकर र नेप्से, सेबोन लगायतको कमिशन तिर्दा नै आफ्नो सम्पति गुमाउने गरेका छन् ।’ बजारमा ट्रेडर हावी हुँदा दिर्घकालिन लगानीकर्ता समस्यामा पर्नुका साथै ब्रोकर कमिशन र सरकारले प्राप्त गर्ने राजस्वमा वृद्धि भएको सम्बद्ध विज्ञहरु बताउँछन् ।

पछिल्लो ६० कार्यदिनमा सरकार ब्रोकरले ११ अर्ब रुपैयाँभन्दा बढी रकम राजस्व र कमिसनवापत बुझेपनि लगानीकर्ता भने विचल्लीमा परेका छन् । ‘४५÷६० दिन अघि लगानीकर्ताले जुन मूल्यमा सेयर खरिद गरेका थिए अहिले त्यहि मूल्यमा बिक्री गर्न सकेका छैनन्,’ एक लगानीकर्ताले भने, ‘पछिल्लो बढ्दो बजारमा खरिद गरेका लगानीकर्ताले भने अहिलेको अवस्थामा २० प्रतिशतभन्दा बढी रकम गुमाईसकेका छन् ।’ साथै अहिले लगानीकर्तासँग सस्तो मूल्यमा सेयर खरिद गरेर एभरेजिङ गर्न पैसा नभएको र घट्दो बजारमा बिक्री गर्दा घाटा हुने भएकाले समस्या विचल्लीमा परेको ती लगानीकर्ताले जानकारी दिए ।

यसैगरी पछिल्लो समय सरकार र नियामक निकायले पुँजी बजारलाई वेवास्ता गर्दा अहिले उच्च रुपमा घट्न पुगेको एक लगानीकर्ताले बताए । ‘सरकार र नीति निर्मातामा नेप्से परिसुचक धेरै बढ्न हुँदैन भन्ने सोच छ,’ ती लगानीकर्ता भने, ‘पुँजी बजार लगानीकर्ताको मनोविज्ञानमा चल्छ र सोहीअनुरुप लगानीकर्ता हौसिएर बजार उच्च रुपमा बढाए तर सरकारले सेबोन अध्यक्ष नियुक्ति लगायत कुनै पनि सुधारमा काम नगर्दा लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पर्न पुग्यो ।’

प्रतिक्रिया दिनुहोस्
MBL