Logo

विग्रँदो आर्थिक अवस्था : नेपालमा दैनिक २० जनाले गर्छन आत्महत्या

विग्रँदो आर्थिक अवस्था : नेपालमा दैनिक २० जनाले गर्छन आत्महत्या



काठमाडौं । पछिल्लो समय बढ्दो आर्थिक तनाव र अन्य मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक बर्ष २०८०/८१ मा मात्रै नेपालभरमा ७ हजार १ सय ९४ जनाले आत्महत्या गरेका छन् । यो संख्या दैनिक करिव २० जना (१९.७०) हुन आउँछ ।

यो संख्या गत बर्षभरी भएका आत्महत्याका घटनालाई ३ सय ६५ सँग भाग गरेर निकालिएको हो । यसरी पछिल्लो समय नेपालमा दैनिक आत्महत्या गर्नेको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे बताउँछ्न । उनका अनुसार नेपालमा दिगो विकासको लक्ष्य अनुसार दैनिक आत्महत्यादर ४.७ मा झार्ने बताईएपनि यसको उचित कारण पत्ता लगाउन नसक्दा हालसम्म उक्त लक्ष्यमा पुग्न नसकिएको देखिन्छ ।

पछिल्लो समयको बढ्दो आर्थिक संकट र सोका कारण निम्तिएको पारिवारिक कलहका कारण आत्महत्या गर्ने क्रम बढेको व्यवसायी तथा सामाजिक विश्लेषकहरु बताउँछन् । ‘अहिले धेरै व्यवसायीहरुको आर्थिक व्यवहार विग्रीएर डिप्रेशनमा पुगेका छन्, यसैका कारण परिवारमा समेत विग्रह आएको छ,’ एक विश्लेषकले भने, ‘व्यवसाय विग्रँदाको आर्थिक र मानसिक दबाब थेग्न नसकेर अहिले मानिसहरु डिप्रेशनमा पुगेर आत्महत्या गर्ने क्रम बढेको देखिन्छ ।’

प्रहरीले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा कृषक तथा श्रमिकहरु बढी नै आत्महत्याको शिकार भईरहेका छन् । तथ्यांक अनुसार गत आर्थिक बर्ष भएका आत्महत्याका घटनाहरुमध्ये ४६.२ प्रतिशत कृषक छन ।

खासगरी नेपाल प्रहरीले नेपालमा पछिल्लो समय आत्महत्याका घटना न्युनीकरण हुनुभन्दा पनि बढ्दै गएको भन्दै आत्महत्याको कारणहरुबारे अध्ययन गरेको थियो । उक्त अध्ययनमा सबैभन्दा बढी कृषकहरुले नै आत्महत्या गरिरहेको पाईएको छ । यस्तै श्रमिकहरुले पनि आत्महत्या गरिरहेको उक्त अध्यनमा उल्लेख छ । गत आवमा आत्महत्याका घटनामध्ये १७.९ प्रतिशत श्रमिकहरुको संख्या छ भने १५.४ प्रतिशत विद्यार्थीको संख्या छ ।

पछिल्ला ५ बर्षमा भएका आत्महत्याको तथ्यांक केलाउँदा पनि गत आर्थिक बर्षमा सबैभन्दा बढी संख्यामा आत्महत्या भएको देखिन्छ । यसअघि आर्थिक बर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका थिए । गत आर्थिक बर्ष भएको आत्महत्याको संख्या अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा २ सय २० जनाले बढी हो । उक्त बर्ष नेपालभर ६ हजार ९ सय ७४ जनाले आत्महत्या गरेका थिए ।

खासगरी नेपालमा झुन्डिए, बिष खाएर, हाम फालेर, डुबेर र आफैलाई आगो लगाएर आत्महत्या गर्नेहरुको संख्या उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL