काठमाडौं । मौसमविदहरुले पूर्वानुमान गरेझैँ यो बर्ष औसतभन्दा बढी नै बर्षा भयो र वर्षाको क्रम जारी नै छ । यसले धेरै धनजनको क्षति पनि निम्त्यायो । वर्षासँगैको बाढीपहिरोको कारण देशैभर मुख्य सडकसहित सहायक सडकहरुसम्म ठूलो क्षति भएको अवस्था छ । पूर्वपश्चिम राजमार्गदेखि अन्य सहायक राजमार्गहरु बाढीका कारण क्षतविक्षत भएका छन् भने पहाडी भेगमा धेरैजसो राजमार्ग पहिरोले बगाएको छ ।
कहिले राम्रै सडक पनि भासिने, भासिने समस्या नभएका सडकमा माथिबाट पहिरो आउने, तराईका राजमार्गमा बाढीले सडक बगाइदिने समस्या बग्रेल्ती छन् । पछिल्ला केहि दिन काठमाडौंलगायत आसपासमा बर्षा रोकिएजस्तो देखिएपनि यो बर्षा असोज १५ सम्म लम्बिने अनुमान मौसमविदहरुको छ । यसले सडकको समस्या पनि नेपालीहरुको महान चाड बडादशैँसम्म लम्बिने निश्चित छ ।
दशैंकै बेला नेपालभर हवाईयात्रा र सडक यात्रा गर्ने यात्रुको संख्या बर्षभरकै उच्च हुने गरेको छ । त्यसैलाई मध्यनजर गरी सरकारले हालै सडक सुरक्षाका बिषयमा विभिन्न निकायहरुसँग सहकार्य र समन्वयको काम गरिरहेको बताइएको छ । केहिदिन अघिमात्रै गृहमन्त्री रमेश लेखकले दुर्घटना कम गर्न सडक सुरक्षामा ध्यान दिन विभिन्न निकायलाई निर्देशन दिएका थिए । यस्तै आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र पौडेलले सडक सुरक्षा र यातायात सम्बद्ध निकाय र सरोकारवालाहरुलाई बोलाएर सडक सुरक्षामा विशेष जोड दिन निर्देशन दिएका थिए । अर्थात उनले चाडपर्व नजिकिँदै गर्दा आफ्नो गन्तव्यमा फर्किने यात्रुहरुको संख्या उच्च हुने भएकाले सवारी व्यवस्थापन सडक सुरक्षा र बाढी पहिरोका कारण आइपर्ने समस्यामा चनाखो हुन निर्देशन दिएका थिए ।
मन्त्री दाहालले यातायात व्यवस्था विभागका अधिकारी, यातायात व्यवसायी, सडक विभागका अधिकारी, नेपाल प्रहरीका अधिकारीलगायतलाई यस्तो निर्देशन दिएका थिए । खासगरी दशैंसम्ममा सबै सडकका खाल्डाखुल्डी पुरीसक्नुपर्ने र यात्रुलाई आईपर्ने समस्या एकिन गरी त्यसमा काम गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
सोही अनुसार हाल सडक विभागले भने देशभरका विभिन्न डिभिजन कार्यालयहरुलाई निर्देशन दिएर सडककका खाल्डाखुल्डी पुर्न निर्देशन दिईसकेको छ । सोही अनुसार काम पनि अघि बढिसकेको विभागका सूचना अधिकारी अमित कुमार शर्मा बताउँछन् । ‘चाडपर्वमा यात्रुहरुलाई समस्या नहोस भनेर नै विभागले देशभरका सडकमा भएका समस्या न्युनीकरणमा विशेष जोड दिएको छ,’ उनले भने, ‘हाल हामीले सबै डिभिजन कार्यालयहरुलाई सडक सुरक्षाको उचित व्यवस्थापन गर्न निर्देशन दिईसकेका छौं ।’
सडकहरुमा पहिरोग्रस्त क्षेत्र पहिचान गरी पहिरो पन्छाउने उपकरणहरु तयारी अवस्थामा राख्ने, उद्धारका लागि नेपाल प्रहरीसँग चाँडो सम्पर्क गर्न सकिने व्यवस्था मिलाउने, कुनै सडकमा समस्या भए आवश्यक समस्याको सहजीकरण र समाधानमा विशेष व्यवस्था मिलाउनेलगायतका कामहरु विभागले गरिरहेको उनले बताए । सकेसम्म दशैंमा यात्रुलाई सास्ती नहुनेगरी सडक सुरक्षा र यसका बिषयमा काम भइरहेको उनको भनाई छ । ‘विभागले खासगरी राष्ट्रिय राजमार्ग र काठमाडौं उपत्यकाका केहि सडकहरुलाई हेर्ने गर्छ, यी सडकहरुमा भएको मर्मतको कामलाई हाल प्राथमिकतामा राखिएको छ’ उनले भने, ‘सकेसम्म विभागले दशैंमा सडककै कारण यात्रुलाई सास्ती नहुनेगरी नै काम गरिरहेको छ ।’
चालु बर्षको बाढि पहिरोबाट नेपालभरका साढे ५ सय बढी राजमार्गहरु अवरुद्ध भएका थिए । त्यसमध्ये विभागकै पहलमा हालसम्म २ सय ७० राजमार्गहरु दुईतर्फी र ३ सय २ सडकहरु एकतर्फी संचालमा आईसकेका छन् । हालै मात्रै विभिन्न स्थानका सडकका ५ स्थानमा सडक अवरुद्ध भएको विभागले जानकारी दिएको छ। ती सडकहरु पनि विस्तारै खुलाइने कोशिस गरिरहेको विभागले जानकारी दिएको छ । विभागले दिएको जानकारीअनुसार कुनैपनि राष्ट्रिय राजमार्गमा भएको अवरोधको प्रकृति हेरेर औसतमा ६ घण्टाभित्र त्यस्तो अवरोधको समाधान गरिँदै आएको छ ।