Logo

गोर्खा मिडियामा गलत ढंगले रकम आएको रबि लामिछानेद्धारा स्वीकार, रकम ल्याउन आफु भने संलग्न नभएको जिकिर

गोर्खा मिडियामा गलत ढंगले रकम आएको रबि लामिछानेद्धारा स्वीकार, रकम ल्याउन आफु भने संलग्न नभएको जिकिर



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । आज (सोमबार) धनगढीमा पत्रकारहरूसँग उनले सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको स्वीकारेका हुन् । यसअघि आफूलाई यो विषयमा केही थाहा नभएको जिकिर गर्दै आएका बताए ।

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो । अनुसन्धानले पनि देखाइसकेको कुरा हो । तर, त्यो कसले गर्‍यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ । क–कसले बदमासी गर्‍यो भन्ने पनि स्पष्ट भइसकेको छ ।’

गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनले दाबी गरे । ‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नुपर्छ,’ उनले भने, ‘मैले कहाँ तिर्न जाने भन्नु पर्‍यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन । त्यो म भएकै बेलामा बदमासी भए पनि त्यो बदमासी कसले र कसरी गर्‍यो भन्ने कुरा स्पष्ट छ ।’

उनले संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी पनि रहेको बताएका छन् । ‘धेरै व्यक्ति लाखौं सहकारी पीडितको न्यायका लागि भन्दा पनि रवि लामिछानेलाई दोषी देखाउन केन्द्रित भएका छन्,’ उनले भने, ‘त्यसको मूल्यांकन इतिहासले गर्नेछ । तर, पीडितले न्याय पाउनेमा म आशावादी छु ।’

अहिलेको सरकारको सुरुवाती छनक राम्रो नदेखिएको पनि लामिछानेले आरोप लगाएका छन् । ‘उहाँहरू (एमाले–कांग्रेस) ले हामी नै निर्विकल्प हौं भन्ने जुन सोच्नु भएको थियो, तर सुरुवाती छनक राम्रो देखिएको छैन,’ उनले थपे, ‘तर, केही समय कुर्न अझै सकिन्छ र समय दिन कुर्नुपर्छ ।’ उनले पहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि खोलेका फाइलबारे अहिले के भइरहेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको तर खबरदारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्